नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआइएमबि) बैंकले नेपालमा पहिलोपटक भिसा वेयरेबल स्टिकर, ‘एनआइएमबि पेवेयर’ जारी गरेको छ । कुनै पनि पिओएस टर्मिनलमा वेयरेबल उपकरण ट्याप गरी छिटो र सुरक्षित सम्पर्करहित कारोबार गर्न सकिने यो नयाँ प्रविधि हो । यसले नेपालमा डिजिटल भुक्तानीको नयाँ युगको सुरुवात गरेको बैंकको दाबी छ ।
कार्यक्रममा बैंकले पेवेयरले कसरी दैनिक कारोबारलाई छिटो, सुविधाजनक र सुरक्षित बनाउँछ भन्ने कुरा प्रस्तुत गरिएको थियो । बैंकका अनुसार यसले ग्राहकलाई भौतिक कार्ड वा मोबाइल वालेट बोक्नुनपर्ने अर्को विकल्प प्रदान गर्नेछ ।
‘एनआइएमबि पेवेयर नेपालका लागि गेम–चेन्जर हो,’ बैंकका वरिष्ठ डेपुटी सिइओ महेश शर्मा ढकालले भने, ‘यो प्रडक्टले ग्राहकको भुक्तानी गर्ने तरिका परिवर्तन गर्नेछ । नेपालमा पहिलोपटक यो प्रविधि प्रस्तुत गर्न पाउँदा उत्साहित छौँ, जसले फेरि एकपटक एनआइएमबिलाई डिजिटल नवप्रवर्तनमा अग्रणीका रूपमा स्थापित गर्नेछ ।’पेवेयरले ग्राहकलाई आफ्नो घडी, की–चेन, फोन केसजस्ता कुनै पनि व्यक्तिगत वस्तुमा वेयरेबल स्टिकर टाँस्न अनुमति दिन्छ, जसले यसलाई धेरै बहुउपयोगी र सुविधाजनक बनाउनेछ ।
साथै, तीन महिनाभित्र एनआइएमबि पेवेयर स्टिकरका लागि आवेदन दिने र यसलाई सक्रिय गर्ने ग्राहकले सो अवधिमा १२ वटा पिओएस कारोबार पूरा गरेपछि आफ्नो वेयरेबल शुल्क (एक हजार रुपैयाँ) फिर्ता पाउने बैंकले जनाएको छ ।