वन्यजन्तु अपराध नियन्त्रणका लागि वन तथा संरक्षण अधिकृतहरूलाई सूचना संकलन तथा व्यवस्थापन तालिम दिइएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोषले लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालय र राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागसँगको समन्वयमा वन क्षेत्रका अधिकृतहरूलाई वन्यजन्तु अपराध नियन्त्रणका लागि आवश्यक पर्ने सुराकी परिचालन तथा सूचना संकलनसम्बन्धी तालिम दिएको हो ।
आइतबार र सोमबार दाङको देउखुरीमा आयोजित तालिममा वन अधिकृतहरूलाई चोरी सिकारसम्बन्धी सूचना संकलन, व्यवस्थापनबारे प्रशिक्षण दिइएको कोषले जनाएको छ। प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव मोहनराज काफ्लेले तालिमले अधिकृतहरूको क्षमता अभिवृद्धि गर्न सघाउ पुर्याउने र अपराध नियन्त्रणमा सघाउ पुर्याउने उल्लेख गरे।
कोषले अमेरिकी सरकारको ब्युरो अफ इन्टरनेसनल नार्कोटिक्स एन्ड ल इन्फोर्समेन्ट एफियर्स (आइएनएल) को सहयोगमा सञ्चालन गरिरहेको ‘कम्ब्याट वाइल्डलाइफ ट्राफिङ इन नेपाल’ परियोजनाअन्तर्गत सातवटै प्रदेशका वन तथा संरक्षण अधिकृतहरूलाई यो तालिम दिइरहेको छ। हालसम्म सुदूरपश्चिम, कर्णाली, बागमती र लुम्बिनी प्रदेशमा तालिम सम्पन्न भएको कोषका संरक्षण अधिकृत गोविन्दप्रसाद पोखरेलले बताए ।
नेपाली सेनाका पूर्वबिग्रेडियर जनरल एवं सुरक्षाविज्ञ दिलीपजंग रायमाझी, नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक प्रवीण पोखरेल र पूर्वकर्नेल वसन्तकुमार रायामाझीले तालिमको सहजीकरण गरिरहेका छन् ।
वन्यजन्तु अपराध नियन्त्रण आदेश, २०८० अनुसार वन तथा वातवारणमन्त्रीको अध्यक्षतामा राष्ट्रिय वन्यजन्तु अपराध नियन्त्रण समन्वय समिति रहने व्यवस्था गरेको छ । यस्तै, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशकको संयोजकत्वमा केन्द्रीय वन्यजन्तु अपराध नियन्त्रण एकाइ, प्रदेशमा वन क्षेत्र हेर्ने सम्बन्धित प्रदेश मन्त्रालयका प्रदेश सचिवको संयोजक्तवमा प्रदेश वन्यजन्तु अपराध नियन्त्रण एकाइ र जिल्ला वन्यजन्तु अपराध नियन्त्रण एकाइको व्यवस्था रहेको संरक्षण अधिकृत पोखरेलले बताए।
जिल्लास्तरीय वन्यजन्तु अपराध नियन्त्रण एकाइको संयोजकमा निकुञ्ज क्षेत्र भएको जिल्लामा निकुञ्जका प्रमुख संरक्षण अधिकृत संयोजक र निकुञ्ज नभएको जिल्लामा डिभिजनल वन अधिकृत संयोजक हुने व्यवस्था छ ।