धरहरा निजी क्षेत्रलाई सञ्चालन गर्न दिने तयारी

सहरी विकास मन्त्रालयले बनाएको धरहरा सञ्चालनसम्बन्धी कार्यविधि मन्त्रिपरिषद्मा, महानगर असन्तुष्ट

सोमबार, १२ कार्तिक, २०८१
डिजिटल संस्करण

सरकारले धरहरा निजी क्षेत्रलाई सञ्चालन गर्न दिने गरी सञ्चालन र व्यवस्थापनसम्बन्धी कार्यविधि तयार पारेको छ । तर, कार्यविधिसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्बाट पारित भने भइसकेको छैन । काठमाडौं महानगरपालिकाले धरहरा सञ्चालन गर्न माग गर्दै आए पनि संघीय सरकारले बेवास्ता गरेको छ । 

सहरी विकास मन्त्रालयले बनाएको धरहरा सञ्चालन र व्यवस्थापनसम्बन्धी कार्यविधिअनुसार मन्त्रालयमातहत रहेको बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई धरहराको जिम्मा दिइनेछ । त्यसपछि केन्द्रले ठेक्कामार्फत निजी क्षेत्रलाई धरहरा सञ्चालन र व्यवस्थापनको जिम्मा दिने तयारी छ । 

मन्त्रालयका सचिव मणिराम गेलालले केन्द्रलाई धरहरा सञ्चालनको जिम्मा दिन प्रस्ताव गरिए पनि अहिलेसम्म निर्णय भइनसकेको बताए । ‘हामीले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई धरहरा चलाउन दिने प्रस्ताव गरेका छौँ,’ सचिव गेलालले भने, ‘धरहरा सञ्चालन र व्यवस्थापन कार्यविधि मन्त्रिपरिषद्मा लगिएको छ । तर, अहिलेसम्म कुनै पनि निर्णय भएको आएजस्तो निजी क्षेत्रलाई दिन लागेको होइन ।’ ३ असोजमा संविधान दिवसको अवसरमा धरहरा सञ्चालनमा आएको थियो । निर्माण सम्पन्न नहुँदै ओलीले तीन वर्षअघि नै धरहरा उद्घाटन गरेका थिए । एक महिनाअघि मात्र धरहरा सञ्चालनमा आए पनि धरहरा क्षेत्रभित्रको केही काम भने अझै बाँकी नै छ । 

महानगरपालिकाभित्र भएको धरहरा सञ्चालन र व्यवस्थापनको जिम्मा आफूहरूले पाउनुपर्ने भन्दै महानगर प्रमुख बालेन्द्र साह (बालेन)ले पटक–पटक आग्रह गरेका थिए । प्रमुख बालेनले ५ भदौमा मन्त्री प्रकाशमान सिंहलाई भेटेर धरहरा सञ्चालन र व्यवस्थापनको जिम्मा दिनका लागि माग गरेका थिए । काठमाडौंका प्रमुख बालेनको प्रहार खेपिरहेका प्रधानमन्त्री केपी ओली भने धरहरा संघीय सरकारले नै चलाउनुपर्ने पक्षमा छन् । 

महानगरले गत वर्ष नै दसैँ तिहारमा न्युरोड क्षेत्रमा हुने अत्यधिक भिडभाडलाई मध्यनजर गरेर धरहराभित्र निःशुल्क पार्किङको व्यवस्था गरेको थियो । महानगरले विनास्वीकृति पार्किङ सञ्चालन गरेकोमा सहरी विकास मन्त्रालय असन्तुष्ट थियो । त्यही समयबाट संघ र महानगर आमने–सामने हुन थालेका थिए । 

महानगरपालिकाले धरहराको भूमिगत पार्किङमा निःशुल्क व्यवस्था गरिरहेको भए पनि प्रधानमन्त्री ओलीले धरहरालाई आम्दानीको स्रोत बनाउन पार्किङ निःशुल्क गर्न नहुने बताएका थिए । ‘धरहराको पार्किङ कुनै पालिका विशेषको होइन, धरहरा त मेरो परिकल्पनामा डिजाइन भएको हो । मेरो परिकल्पनाअनुसार नै जग्गा अधिग्रहणदेखि सबै काम भएको हो । त्यसैले अब धरहरालाई आम्दानीको स्रोत बनाउन सकिन्छ । मान्छेलाई मनोरञ्जन पनि हुन्छ । आम्दानी पनि हुन्छ,’ गत साउन १५ गते मन्त्री तथा सचिवहरूसँगको बैठकमा प्रधानमन्त्री ओलीले भनेका थिए ।

हामीले चलाउँदैनौँ भने मात्र विकल्प खोज्ने हो : महानगर 
काठमाडौं महानगरपालिकाले सरकारी सम्पत्तिमाथि व्यवसायीकरण गर्न नपाइने र महानगरले चलाउँदिन भने मात्र विकल्प खोज्नुपर्ने बताएको छ । आफूहरूसँग परामर्शविनै मन्त्रालयले कार्यविधि बनाएकोमा महानगर असन्तष्ट छ । महानगर प्रवक्ता नवीन मानन्धरले सरकारी सम्पत्ति निजी क्षेत्रलाई दिने काम न्यायोचित नहुने बताए । ‘सबै सरकारी सम्पत्ति निजी क्षेत्रलाई दिँदै जाने हो भने राज्यसत्ता पनि निजीलाई चलाउन दिए भयो त,’ प्रवक्ता मानन्धरले भने, ‘हामीसँग धरहरा सञ्चालनका लागि स्रोत, साधन र आवश्यक जनशक्ति भएकाले अन्तिमसम्म महानगरले सञ्चालन गर्ने व्यवस्था गर्न लागि पर्नेछौँ ।’ महानगरका अनुसार धरहरा सञ्चालन र व्यवस्थापन महानगरले गर्नका लागि आन्तरिक रूपमा पहलसमेत भइरहेको छ ।

प्रस्ताव गरेका छौँ, निर्णय भएको छैन
मणिराम गेलाल, सचिव सहरी विकास मन्त्रालय

हामीले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई धरहरा चलाउन दिने प्रस्ताव गरेका छौँ । धरहरा सञ्चालन र व्यवस्थापन कार्यविधि मन्त्रिपरिषद्मा लगिएको छ । तर, अहिलेसम्म कुनै पनि निर्णय भएको छैन । बाहिर आएजस्तो निजी क्षेत्रलाई दिन लागेको होइन ।

धरहरा सञ्चालन गर्न महानगर सक्षम छ
नवीन मानन्धर, प्रवक्ता काठमाडौं महानगरपालिका

 सरकारी सम्पत्ति निजी क्षेत्रलाई दिने काम न्यायोचित हुँदैन । सबै सरकारी सम्पत्ति निजी क्षेत्रलाई दिँदै जाने हो भने राज्यसत्ता पनि निजीलाई चलाउन दिए भयो त ! हामीसँग धरहरा सञ्चालनका लागि स्रोत, साधन र आवश्यक जनशक्ति भएकाले अन्तिमसम्म महानगरले सञ्चालन गर्ने व्यवस्था गर्न लागिपर्नेछौँ । धरहरा सञ्चालन गर्न महानगर सक्षम छ । 

सुझावित समाचार