भारतको उत्तरप्रदेशस्थित संबल जिल्लाबाट काम गर्न नेपाल आएका ४४ जना मजदुर अलपत्र परेका छन् । सप्तरीको विष्णुपुर गाउँपालिका मलेकपुरस्थित सीता इँटा उद्योगमा काम गर्न उनीहरू नेपाल आएका थिए । इँटाभट्टा सञ्चालक नवीन यादवसँग आठ लाख रुपैयाँ लिएर भारतीय ठेकेदार मो. जाकिर भागेपछि उनीहरू अलपत्र परेका हुन् ।
ठेकेदारले गत असोज ३० गते उनीहरूलाई कुनौली नाका हुँदै नेपाल प्रवेश गराएर इँटा उद्योगका सञ्चालक यादवलाई जिम्मा लगाएका थिए । त्यसपछि थप पैसा लिएर जाकिर भारत गएको सीता इँटा उद्योगका सञ्चालक यादवले बताए ।
ती मजदुरका आफन्तहरूले भारतस्थित राष्ट्रिय अनुसूचित जातीय आयोगमा नेपालको इँटा उद्योगमा आफ्ना आफन्तलाई बन्धक बनाइएको, बलात्कार गरेको, खान नदिएको आरोप लगाउँदै उजुरी गरेका थिए ।
उक्त उजुरीबारे भारतीय पक्षले सप्तरी प्रशासनलाई शुक्रबार जानकारी दिएपछि जिल्ला प्रहरी कार्यालयले सीता इँटा उद्योगमा कार्यरत मजदुरकाे उद्धार गरेको छ । उनीहरूलाई सप्तरीको सदरमुकाम राजविराज ल्याइएको छ । शनिबार राजविराजस्थित कल्टुदास पोखरीको उत्तरी डिलमा एक निर्माणाधीन घरमा भोकभोकै भुइँमा सुतिरहेका छन् ।
‘काम गर्न हामी आएका थियौँ, पैसा हामीलाई चाहिन्छ, कसले लिएर गयो हामीलाई के थाहा,’ मजदुर मनवीर सिंहले भने, ‘चिसो मौसममा भुइँमै चारैतिर खुला रहेको स्थानमा बालबालिकासहित सुत्नुपर्दा समस्या भएको छ । हामी भोकभोकै बस्न बाध्य छौँ ।’
ठेकेदारसँग सम्पर्क गरी उनीहरूलाई भारत पठाउने प्रयास भइरहेको सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले बताए । उनले आइतबारसम्म समस्या समाधान हुने बताए ।