शिक्षा क्षेत्रमा भएका सुधार चाँडै देखिन्छ : शिक्षामन्त्री

शुक्रबार, ९ कार्तिक, २०८१
डिजिटल संस्करण

शिक्षामन्त्री विद्या भट्टराईले सय दिनमा भएका कामबारे ४२ बुँदे प्रगति विवरण सार्वजनिक गरेकी छिन् । बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत उनले यस अवधिमा भएका कामबारे विवरण सार्वजनिक गरेकी हुन् ।

मन्त्री भट्टराईले तीनवटा समिति बनाएर विद्यालय शिक्षा विधेयकलाई तीव्र गतिमा लैजाने र अनिवार्य तथा निःशुल्क शिक्षा ऐनमा भएका व्यवस्थामध्ये एउटा व्यवस्था मंसिरभित्रै कार्यान्वयन गर्ने बताइन् ।

सय दिनको अवधिमा स्थानीय उत्पादनमा आधारित विद्यालय दिवा खाजा राष्ट्रिय प्रारूप स्वीकृत भई कार्यान्वयनमा ल्याउन सकेको, अनिवार्य तथा निःशुल्क शिक्षाको तीनै तहका सरकारको जिम्मेवारीसहितको कार्यान्वयन कार्ययोजना तयार भएको, माध्यमिक तहसम्मको शिक्षालाई अनिवार्य र निःशुल्क बनाउने सरकारको सोचअनुरूप कार्यान्वयन कार्ययोजना तयार गरी कार्यान्वयन प्रक्रिया अगाडि बढाएको लगायत उनले जानकारी गराइन् । 

आफू आएपछि विश्वविद्यालयको विधेयकको मस्यौदा तयार गरी मन्त्रिपरिषद्मा पठाइएको उनले बताइन् । ‘म आएपछि उच्च शिक्षा विधेयकको मस्यौदा तयार गरी नेपाल कानुन आयोगमा पठाइयो, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम विधेयकको मस्यौदा अर्थ मन्त्रालयको सहमतिका लागि पठाइएको छ,’ उनले भनिन् ।

कक्षामा अनुत्तीर्ण विद्यार्थीलाई पुनर्योगका लागि कक्षा सञ्चालन गर्न निर्देशन, सिटिइभिटीका कार्यक्रम अनुगमन, पाठ्यपुस्तक परिमार्जन तयारीलगायत काम भएका छन् । मन्त्रालयका कामकारबाही एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जिआइओएमएस)मा राख्ने, कर्मचारीसँग नियमित बैठक बस्ने, शिक्षक लक्षित बुटक्याम्प सञ्चालन, त्रिविको नतिजा प्रकाशनमा सहयोग, कन्सल्टेन्सीमाथि कडाइ, अनिवार्य तथा निःशुल्क शिक्षा ऐनमाथि छलफललगायत अभ्यास भएको छ । 

सुझावित समाचार