बन्दीपुरबाट अवैध काठ बरामद, भरियाहरू फरार

बिहिबार, ८ कार्तिक, २०८१
डिजिटल संस्करण

सिराहाको पश्चिमी भेगमा पर्ने कर्जन्हा नगरपालिका– १ बन्दीपुर बल्टियाको सामुदायिक वन क्षेत्रबाट सशस्त्र वनरक्षक र कर्मचारीहरूको टोलीले १२ क्युबिक फिट काठ बरामद गरेको छ।

डिभिजन वन कार्यालय लहानका प्रमुख शैलेन्द्रकुमार मिश्रका अनुसार काठ तस्करहरूले साल प्रजातिको काठ ल्याउँदै गरेको सूचनाको आधारमा पछिल्लो तीनदेखि निगरानीपछि बुधबार राति करिब साढे १० बजेतिर १२ थान फल्याक बरामद भएको हो । बन्दीपुरस्थित सबडिभिजन वन कार्यालयका फरेस्टर जयप्रकाशकुमार साह, जमदार लखन झासहितको वन कर्मचारीहरूको टोलीले काठ बरामद गरेको उनले बताए ।

वन कर्मचारीसहितको टोलीले पश्चिमतिर पर्ने कमला नदीको बगर र बाँकी तीनतिर सामुदायिक वन क्षेत्रको नाकामा निगरानी गर्ने क्रममा दुई–तीनजनाले काँधमा बोकेर ल्याउँदै गरेको अवस्थामा पक्राउ गर्न खोज्दा अँध्यारोको फाइदा उठाउँदै फरार भएको सबडिभिजन बन्दीपुरले जनाएको छ। बरामद गरिएको काठ लहानस्थित डिभिजन वन कार्यालय ल्याइएको जनाइएको छ ।

सुझावित समाचार