सामुदायिक विद्यालयको सटर हटाउने अभियानमा काठमाडौं महानगरलाई सफलता, धमाधम सटर हटाउँदै सिकाइ कक्ष विस्तार

बिहिबार, ८ कार्तिक, २०८१
डिजिटल संस्करण

सामुदायिक विद्यालयले भाडामा लगाएका सटर भत्काएपछि सामुदायिक विद्यालयका सिकाइ कक्ष फराकिला र व्यवस्थित बनेका छन् । कक्षाकोठा र खेलमैदानअभाव हुँदाहुँदै सामुदायिक विद्यालयले सटर निर्माण गरी भाडामा लगाएको भन्दै काठमाडौं महानगरपालिकाले फागुन ०८० देखि सटर खाली गराउने अभियान थालेको थियो । सोही अभियानपछि सामुदायिक विद्यालयले सटर भत्काएर सिकाइ कक्ष विस्तार गरेका हुन् ।

चाबहिलमा रहेको पशुपति मित्र माध्यमिक विद्यालय, बल्खुमा रहेको जनविकास मावि, क्षेत्रपाटीमा रहेको जुद्धोदय मावि, भीमसेनस्थानस्थित परोकार माध्यमिक विद्यालय, डिल्लीबजारमा रहेको विजय स्मारक माध्यमिक विद्यालय, डिल्लीबजारकै पद्मकन्या विद्याश्रम मावि, प्रदर्शनीमार्गस्थित पद्मोदय माविलगायत ३९ वटा सामुदायिक विद्यालयले सटर तथा जग्गाबाट भाडा उठाइरहेका थिए । त्यसमध्ये अधिकांश सामुदायिक विद्यालयमा महानगरले सटर खाली गराइसकेको छ । खाली गरेका स्थानमा शैक्षिक गतिविधि सञ्चालन गर्न थालिएको छ । 

१० माघ ०८० मा नयाँ पत्रिका दैनिकमा ‘विद्यार्थीलाई साँघुरा कोठा, खेलमैदान पनि अभाव तर सटर बनाएर भाडामा लगाउँछन् विद्यालय’ शीर्षकको समाचार प्रकाशन भएको थियो । उक्त समाचार प्रकाशनपछि ध्यानाकर्षण भएको जनाउँदै काठमाडौं महानगरको शिक्षा विभाग र नगर प्रहरी टोली अनुगमनमा खटिएको थियो । अधिकांश विद्यालयले सटरबाट भाडा उठाउने गरेको भेटेपछि ताला लगाउन सुरु भएको थियो । विद्यालयले सटर भाडामा लगाएर उठाएको रकम पारदर्शी नदेखेपछि खाली गर्न थालेको मेयर बालेन्द्र शाहका सल्लाहकार कुमार व्यञ्जनकारले जानकारी दिए । ‘समाचार प्रकाशनपछि हामीलाई काम गर्न निकै सहज भयो, त्यसलाई आधार मानेर अनुगमन गर्दा भाडा रकम पारदर्शी र प्रभावकारी पनि देखिएन,’ उनले भने, ‘प्रभावहीन देखिएपछि कारबाही थाल्यौँ ।’ 

काठमाडौं महानगरपालिकाभित्र ८७ वटा सामुदायिक विद्यालय छन् । यीमध्ये ३९ वटा विद्यालयले सटर निर्माण गरी भाडामा लगाएका थिए । कतिपयले भवन नै निर्माण गरी भाडा उठाउँथे । भाडामा दिँदा पनि चलनचल्तीभन्दा निकै सस्तोमा दिइएको थियो । 

जनकल्याणमा सटर हटाएर ल्याब र लाइब्रेरी
काठमाडौंको बौद्धमा रहेको जनकल्याण माध्यमिक विद्यालयले सटर हटाई उक्त स्थानमा ल्याब र लाइब्रेरी स्थापना गरेको छ । काठमाडौं महानगरपालिकाको निर्देशनअनुसार सटर हटाउँदा विद्यालय फराकिलो बनेको विद्यालयका प्रधानाध्यापक दीपक श्रेष्ठले बताए । ‘महानगरको निर्देशनअनुसार सटर विस्थापित गरेका छौँ, यद्यपि अझै पनि सिकाइका लागि पर्याप्त ठाउँ छैन, केही व्यवस्थित भने भयो,’ उनले भने । 

चाबहिलको पशुपति मित्र माध्यमिक विद्यालयले ३६ वटा सटर भाडामा दिएको थियो । तर, महानगरले ती सबै सटर भत्काइसकेको छ । अब उक्त ठाउँमा शैक्षिक गतिविधि सञ्चालन हुने महानगरले जनाएको छ । विद्यालयले मासिक प्रतिसटर २५ हजार भाडा उठाउँथ्यो । सबै सटरको हिसाब गर्दा वार्षिक ८० लाख रुपैयाँ विद्यालयले आन्तरिक आम्दानी गथ्र्याे । तर, उक्त रकम पारदर्शी नभएको भेटिएको थियो । विद्यालयमा भने एउटै कक्षामा ५० जनाभन्दा बढी विद्यार्थी कोचेर राखेको फेला परेको थियो । 
बल्खुमा रहेको जनविकास माविले पनि २६ वटा सटर भाडामा लगाएको थियो । एउटा सटरको मासिक भाडा २२ हजार थियो । सबै गरेर मासिक पाँच लाख ७२ हजार भाडा उठाउँथ्यो । तर, महानगरले यहाँका सटर पनि भत्काएको छ ।

डिल्लीबजारको विजय स्मारक माविले ६ वटा सटर भाडामा लगाएको थियो । डिल्लीबजारकै पद्मकन्या विद्याश्रम मावि, जसले नौवटा सटर भाडामा लगाएको थियो । यी सबै सामुदायिक विद्यालयको सटर हटाएर त्यहाँ शैक्षिक क्रियाकलापका लागि आवश्यक ठाउँ निर्माण गरिएको विद्यालयले जनाएका छन् ।

प्रदर्शनीमार्गमा रहेको पद्मोदय माविको सटर भने महानगरले बल्ल हटाउँदै छ । कानुनी अधिकार खोज्दै विद्यालय व्यवस्थापन समिति अदालत गएका कारण उक्त विद्यालयको सटर हटाउन ढिलो भएको हो । तर, अब भने दुई–तीन दिनभित्र सटर खाली गर्ने महानगरपालिका शिक्षा विभागले जनाएको छ । विभाग प्रमुख गोविन्दप्रसाद शर्माले सबैजसो विद्यालयको सटर हटाइएको बताए । ‘विद्यालयले सटर तथा जग्गा भाडामा लगाएको जायज र पारदर्शी देखिएन,’ उनले भने, ‘त्यसकारण हामीले हटायौँ, अझै केही विद्यालयको सटर र जग्गा खाली गर्न बाँकी छ, कानुनी बाधाका कारण सबैमा खाली गर्न नसकेका हौँ ।’ उनका अनुसार केही विद्यालय अदालतसम्म धाएका कारण जग्गा तथा सटर खाली गर्न ढिलो भएको छ । 

आवश्यक पर्ने विद्यालयलाई स्रोत उपलब्ध गराउने 
सटर तथा जग्गा भाडामा लगाएका महानगरका अधिकांश सामुदायिक विद्यालयले आन्तरिक खर्च धान्न सटर तथा जग्गा भाडामा लगाएको दाबी गर्दै आएका छन् । खर्च धान्न कठिन भए महानगरले दिने शिक्षा विभाग प्रमुख शर्माले जानकारी दिए । ‘यदि कुनै विद्यालयलाई आन्तरिक स्रोत पुगेको छैन भने प्रमाणका आधारमा हामीले दिन्छौँ, कर्मचारी तथा शिक्षक राखेका छन् भने पनि तलब दिन्छौँ, तर आवश्यकता देखिनुप¥यो,’ विभाग प्रमुख शर्माले भने, ‘तर मौखिम रूपमा मागेर मात्रै दिँदैनौँ ।’ 

जुद्धोदयलाई कारबाही गर्न कठिन
काठमाडौं महानगरपालिकाभित्र सबैभन्दा बढी जग्गाको दुरुपयोग गर्ने विद्यालय क्षेत्रपाटीमा रहेको जुद्धोदय मावि हो । यो विद्यालयले महानगरलाई थाहै नदिई ३० वर्षका लागि जग्गा भाडामा लगाएको छ । उक्त मुद्दा अदालतमा विचाराधीन रहेका कारण जग्गा फिर्ता ल्याउन सकिएको छैन । विद्यार्थीलाई पठनपाठन गर्ने ठाउँ अभाव भइरहेका वेला विद्यालयका प्रधानाध्यापक लक्ष्मण पौडेलले मिलेमतोमा जग्गा भाडामा लगाएका थिए । भाडाबापत विद्यालयले मासिक चार लाख ५० हजार बुझ्छ । झन्डै दुई रोपनी जग्गा भाडामा लगाएको विषयमा विद्यालयका अन्य शिक्षक र कर्मचारीले समेत विरोध गर्दै आइरहेका छन् । ‘सबैभन्दा बढी बदमासी जुद्धोदयले गरिरहेको महानगरका शिक्षा विभाग प्रमुख शर्माले जानकारी दिए । ‘यो विद्यालयको जग्गा भाडा फिर्ता ल्याउन खोजेका थियौँ । तर, अदालतमा मुद्दा विचाराधीन रहेकाले रोकिएका छौँ,’ उनले भने, ‘अदालतले बाटो खोलिदिएपछि विद्यालयको जग्गा संरक्षण हुन्छ ।’ 

भक्तपुर र ललितपुरले हटाएनन् सटर     
काठमाडौं महानगरपालिकाले सटर हटाए पनि ललितपुर महानगर र भक्तपुर नगरपालिकाले भने विद्यालयका संरचनामा सटर निर्माण गरी भाडा लगाएका छन् । जसका कारण सामुदायिक विद्यालयले साँघुरा कक्षाकोठा सँगसँगै खेलमैदानको अभाव झेलिरहेका छन् ।

ललितपुर महानगरमा ४० वटा सामुदायिक विद्यालय छन् । त्यसमध्ये आठवटाले सटर भाडामा लगाएका छन् । भक्तपुर नगरपालिकाका ६ सामुदायिक विद्यालयले सटर तथा जग्गा भाडामा लगाउँदै आइरहेका छन् । ललितपुरको पाटन उच्च माविले १२ वटा सटर भाडामा लगाएको छ । पाटनको मदन स्मारक मावि र सातदोबाटोको महेन्द्र आदर्श माविले जग्गा नै भाडामा लगाएका छन् । त्यस्तै महेन्द्र आदर्शको आफ्नै खेलमैदान तथा पर्याप्त कक्षाकोठा नहुँदानहुँदै सातदोबाटोमा सेल्सवेरी सञ्चालन गर्न जग्गा भाडामा लगाएको छ । तर, महानगरपालिकाले सटर भाडामा लगाएका विद्यालयलाई कारबाही गर्न सकेको छैन । 

यस्तै लगनखेलमा रहेको नमुना मच्छिन्द्र माविले विद्यालयको वरिपरि टहरा निर्माण गरेर २४ वटा सटर भाडामा लगाएको थियो । सटर भाडाबाट विद्यालयले मासिक झन्डै दुई लाख रकम उठाउँथ्यो । तर, दुई वर्षअघि नै महानगरले सबै सटर भत्काएको थियो । सँगै रहेको सप्तपाताल पोखरीको जग्गा मिचेरसमेत विद्यालयले टहरा र सटर बनाई भाडामा दिएपछि महानगरपालिकाले भत्काएको थियो । 

भक्तपुरको बागेश्वरी माविलाई भने सटर भाडामा लगाउनु बाध्यता छ । भक्तपुर च्यामासिंहमा रहेको बागेश्वरी माविको आन्तरिक आम्दानीको स्रोत सटर भाडा नै हो । ६ वटा सटर भाडामा लगाएको विद्यालयले मासिक झन्डै डेढ लाख आम्दानी गर्छ । यही स्रोतबाट २० जनाभन्दा बढी शिक्षक राखेर पठनपाठन गराउँदै आएको छ । सरकारले दिएको रकमले विद्यालयको व्यवस्थापन खर्च धान्न नसकेपछि सटर भाडामा लगाउनुपरेको बागेश्वरी माविका ११ र १२ कक्षाका संयोजक ज्ञानसागर प्रजापतिले बताए । ‘हामीले सूचना नै निकालेर पारदर्शी तरिकाले सटर भाडामा लगाउँछौँ । त्यसबापतको रकम विद्यालयको आन्तरिक खर्च, मर्मत र केही कार्यालय सहयोगीका लागि खर्च गरेका छौँ,’ उनले भने । 

सुझावित समाचार