सम्भाव्यता अध्ययनविना चार वर्षअघि निर्माण सुरु भएको उद्योग गत पुसमा तयार भएर परीक्षण उत्पादन थालेयता कुन निकायले सञ्चालनको जिम्मा लिने भन्ने कार्यविधि अभावमा एक वर्षदेखि बन्यो बेकामे
बागमती प्रदेशले ४७ करोड लगानीमा हेटौँडा– १०, न्युरेनीमा एक वर्षअघि तयार गरेको धुलो दुध कारखाना सञ्चालनमा आउन सकेको छैन । मागको तुलनामा बढी भएको दुध संकलन गरी पाउडर बनाउने र किसानको दुध खेर जान नदिने उद्देश्यले स्थापना भएको उद्योग प्रयोगविहीन भएको हो ।
चार वर्षअघि १ पुस ०७७ मा सम्भाव्यता अध्ययनविनै निर्माण सुरु गरिएको उद्योग गत पुसमा तयार भएपछि परीक्षण उत्पादन गरिएको थियो । त्यसयता भने उद्योग धुलो दुध उत्पादनका लागि नियमित प्रयोग गर्न नसकिएको बागमती प्रदेशको कृषि तथा पशुपक्षी मन्त्रालयका सचिव विनोदकुमार भट्टराईले जानकारी दिए ।
मन्त्रालयमातहतको दुग्ध विकास बोर्डको समन्वयमा उद्योग निर्माण भए पनि सञ्चालनका लागि कसैले चासो दिएका छैनन् । बोर्डले एक वर्षयता कुन निकायले उद्योग सञ्चालन गर्ने भन्नेबारे कार्यविधिसमेत नबनाएको मन्त्रालयको भनाइ छ । प्रदेश सरकारका निकायले भने उद्योग सञ्चालन गर्न नसकिने जानकारी गराइसकेका छन् ।
कृषि मन्त्रालयले पनि एक वर्ष बितिसक्दा कुनै निकायलाई हस्तान्तरण गर्न सकेको छैन । मन्त्रालयका सचिव भट्टराई उद्योग आफैँले सञ्चालन गर्न सक्ने अवस्थामा प्रदेश सरकार नरहेको बताए । उद्योग स्थापनाअघि सञ्चालनको मोडालिटी नहुँदा अहिले समस्या भएको उनले बताए ।
गत पुसमा परीक्षण उत्पादन गर्दा दुग्ध विकास संस्थान (डिडिसी)ले समन्वय गरेको थियो । त्यसैले डिडिसीलाई नै निश्चित सर्तका आधारमा उद्योग सञ्चालन गर्न दिनेबारे छलफल अघि बढेको उनले बताए । डिडिसीले कहिलेकाहीँ एक–दुई दिनका लागि उद्योग सञ्चालन गरिरहेको पनि उनले जानकारी दिए ।
दैनिक ५० हजार लिटरभन्दा बढी दुध खपत गर्ने र पाँच हजार किलो धुलो दुध उत्पादन गर्ने उद्योगको क्षमता छ । उद्योग सञ्चालन हुँदा बागमतीसहित मधेस, गण्डकी र कोशी प्रदेशका समेत करिब २५ हजार किसान लाभान्वित हुने अपेक्षा गरिएको छ ।
डिडिसीलाई सञ्चालनको जिम्मा दिने तयारी
मन्त्रालयले दुग्ध सहकारी र निजी डेरी उद्योगीको समन्वयमा धुलो दुध कारखाना सञ्चालनको पहल गरे पनि असफल भएको दाबी गरेको छ । सञ्चालनको मोडालिटी प्रस्ट नहुँदा कुनै पनि निकायले जिम्मा लिन नमानेकाले अहिले डिडिसीलाई उद्योगको जिम्मेवारी दिन लागिएको सचिव भट्टराईले जानकारी दिए ।
डिडिसीले पनि उद्योग सञ्चालनका लागि प्रदेशको कृषि मन्त्रालयलाई दसैँअघि नै प्रस्ताव पेस गरिसकेको छ । सो प्रस्तावबारे छलफल भइरहेको उनले जानकारी दिए । डिडिसी हेटौँडा दुग्ध वितरण आयोजनाका प्रमुख राजीव खनालले प्रदेश कृषि मन्त्रालयसँग विभिन्न चरणको छलफलपछि उद्योग सञ्चालनका लागि प्रस्ताव पेस गरेको जानकारी दिए । ‘हामीले उद्योग सञ्चालनका लागि प्रस्ताव पेस गरेका छौँ । प्रदेश सरकारले निर्णय गर्नुअघि कृषि मन्त्रालयमा उक्त प्रस्तावको विषयमा छलफल भइरहेको भन्ने मैले जानकारी पाएको छु,’ उनले भने । ‘केही दिनमै निर्णय आउला ।’उनले किसानले उत्पादन गरेको दुध नबिकेर ‘मिल्क होलिडे’ गर्नुपर्ने बाध्यता हटाउन उद्योग सहयोगी हुने भएकाले सञ्चालनको जिम्मेवारी लिन चाहेको बताए ।