गाजाको द्वन्द्व अन्त्य होस् : राष्ट्र संघ

मंगलबार, ६ कार्तिक, २०८१
डिजिटल संस्करण

राष्ट्र संघले गाजामा द्वन्द्वको तुरुन्तै अन्त्य गर्न आह्वान गरेको छ । इजरायली हमला तीव्र बढिरहेका वेला मध्यपूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्र संघका विशेष संयोजक टोर वेन्नेसल्यान्डले यस्तो आह्वान गरेका हुन् ।

उनले गाजामा नागरिकमाथि जारी इजरायली आक्रमणको निन्दा गर्दै युद्ध लम्बिएमा हुने मानवीय संकटबारे चेतावनी दिए । गैरलडाकुहरूको रक्षा गर्न, प्यालेस्टिनीहरूको थप विस्थापन रोक्न र बन्दीहरूको तत्काल सुरक्षित रिहाइ गर्न आवश्यक रहेको वेन्नेसल्यान्डले बताए । प्रभावित क्षेत्रमा मानवीय सहायता निर्बाध प्रदान गरिनुपर्ने बताउँदै वेन्नेसल्यान्डले जीवन बचाउ सहयोगलाई खाँचोमा परेकाहरूसम्म पुग्न अनुमति दिन आग्रह गरे ।

वेन्नेसल्यान्डले उत्तरी गाजाको अवस्थालाई इजरायली हवाई आक्रमण र बिग्रिँदै गएको मानवीय अवस्थाले चिह्नित गरेको विडम्बनाको रूपमा वर्णन गर्दै बेत लाहियामा भएको विनाशबारे उल्लेख गरे । बेत लाहियामा रातभरिमा कम्तीमा ८७ प्यालेस्टिनी मारिएको बताइएको छ भने विनाशकारी आक्रमणका कारण धेरैजना भग्नावशेषमुनि पुरिएको अनुमान गरिएको छ ।

पछिल्लो समय ‘गाजामा विनाशकारी द्वन्द्व तीव्र हुँदै गइरहेको जनाउँदै उनले द्वन्द्व, निरन्तर इजरायली हमला र बढ्दो मानवीय संकटबिच उत्तरी गाजापट्टीमा डरलाग्दो अवस्था देखापरेकाले कतै पनि सुरक्षित नभएको बताएका छन् ।

सुझावित समाचार