सेयर र घरजग्गाबाट साढे १७ अर्ब राजस्व

मंगलबार, ६ कार्तिक, २०८१
डिजिटल संस्करण

चालू आर्थिक वर्ष ०८१/८२ को पहिलो त्रैमासमा सेयर र घरजग्गा कारोबारबाट सरकारलाई करिब साढे १७ अर्ब राजस्व अर्थात् पुँजीगत लाभकर प्राप्त भएको छ । त्यस्तो कारोबारमा भएको नाफाबाट लगानीकर्ता र जग्गाधनीले सरकारलाई साउन, भदौ र असोजमा गरेर १७ अर्ब ४१ करोड चार लाख राजस्व बुझाएका हुन् । 

सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएससी) र भूमि व्यवस्थापन तथा अभिलेख विभागबाट प्राप्त छुट्टाछुट्टै तथ्यांकले यस्तो देखाएको हो । यो राजस्व गत आवको सोही अवधिको तुलनामा ६१ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा १० अर्ब ८० करोड ३५ लाख रुपैयाँ यस्तो राजस्व उठेको थियो । गत आवभरमा भने सेयर र घरजग्गा कारोबारबाट ४७ अर्ब ५२ करोड नौ लाख राजस्व उठेको थियो । 

सेयरबाट सात अर्ब ४० करोड राजस्व
सिडिएससीबाट प्राप्त तथ्यांकअनुसार समीक्षा अवधिमा सेयर कारोबारबाट सरकारलाई सात अर्ब ४० करोड ३८ लाख ८२ हजार रुपैयाँ पुँजीगत लाभकर प्राप्त भएको छ । त्यसमा साउनमा चार अर्ब २३ करोड ७८ लाख ६१ हजार रुपैयाँ, भदौमा दुई अर्ब ५७ करोड ९४ लाख ८० हजार रुपैयाँ र असोजमा ५८ करोड ६५ लााख ४० हजार रुपैयाँ राजस्व उठेको छ । गत आवको सोही अवधिमा सेयर कारोबारबाट सरकारलाई ७६ करोड पाँच लाख मात्रै राजस्व उठेको थियो । गत आवभरमा भने पाँच अर्ब ५० करोड ७७ लाख रुपैयाँ यस्तो पुँजीगत लाभकर उठेको थियो । तर, चालू आवको तीन महिनामा गत आवको भन्दा पनि धेरै कर उठेको तथ्यांकमा उल्लेख छ । 

गत आवमा सेयर बजार बढ्न सकेको थिएन भने कारोबार रकम पनि न्यून थियो । तर, चालू आवको साउनमा बजार उच्चदरमा बढ्नुका साथै कारोबार रकम पनि उच्च मात्रामै भयो । सोही कारण सरकारले पाउने राजस्व पनि बढेको सिडिएससी प्रवक्ता सुरेश न्यौपानेले बताए । 

गत असारसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक २२४०.४१ विन्दुमा थियो । यसबिचमा नेप्से तीन हजार विन्दुसम्म पुगेको थियो । सोमबार भने नेप्से परिसूचक २५२६.७५ विन्दुमा छ । 

साउनमा चार खर्ब १८ अर्ब २० करोड रुपैयाँको सेयर कारोबार भएको थियो । भदौ महिनामा दुई खर्ब ५० अर्ब ५७ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । असोजमा भने ८४ अर्ब २३ करोड ९३ लाख रुपैयाँको सेयर कारोबार भएको नेप्सेको तथ्यांकमा उल्लेख छ । सेयर कारोबारमा हुने खुद नाफामा ५ प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्छ । कुनै लगानीकर्ताले सेयर किनेर एक वर्षपछि बिक्री गर्दा हुने नाफामा ५ प्रतिशत कर तिर्नुपर्छ । यसैगरी, लगानीकर्ताले सेयर किनेको एक वर्षभित्र बिक्री गर्दा हुने नाफामा ७.५ प्रतिशत पुँजीगत लाभकर लाग्नेछ ।  

घरजग्गा कारोबारबाट १० अर्ब राजस्व 
भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार चालू आवको तीन महिनामा घरजग्गा कारोबारबाट सरकारलाई १० अर्ब ६५ लाख राजस्व प्राप्त भएको छ । गत आवको सोही अवधिमा भने घरजग्गा कारोबारबाट १० अर्ब चार करोड ३० लाख यस्तो राजस्व उठेको थियो । गत आवभर ४२ अर्ब एक करोड ३२ लाख रुपैयाँ यस्तो राजस्व उठेको विभागको तथ्यांक छ । विभागका अनुसार साउनमा तीन अर्ब ८३ करोड ५० लाख र भदौमा तीन अर्ब नौ करोड दुई लाख राजस्व उठेको थियो । असोजमा भने तीन अर्ब आठ करोड १२ लाख रुपैयाँ राजस्व उठेको छ ।

तीन महिनामा एक लाख सात हजार घरजग्गा कारोबार 
समीक्षा अवधिमा देशभर एक लाख सात हजार एक सय ६० घरजग्गा कारोबार भएका छन् । गत आवको सोही अवधिमा एक लाख १४ हजार आठ सय ३० वटा यस्तो कारोबार भएका थिए । यसरी समीक्षा महिनामा घरजग्गा कारोबार घट्दा यसबाट उठ्ने राजस्व पनि घटेको छ । कित्ताकाटमा गरिएको कडाइले घरजग्गा कारोबार प्रभावित भएको छ । गत आवमा नेपालभर पाँच लाख ३७ हजार दुई सय ९५ वटा घरजग्गाको कारोबार भएका थिए । समीक्षा अवधिको साउनमा ४३ हजार आठ सय ३५ र भदौमा ३२ हजार सात सय ८९ वटा घरजग्गा खरिद–बिक्री भएका थिए । असोजमा यस्तो कारोबार ३० हजार पाँच सय २७ वटामा सीमित भएको छ ।

See More On

सुझावित समाचार