माल्दिभ्सविरुद्ध नेपाल ११-० ले विजयी, रेखा र प्रीतिको ह्याट्रिक

सोमबार, ५ कार्तिक, २०८१
डिजिटल संस्करण

महिला फुटबलमा घरेलु संरचना निकै कमजोर रहेको माल्दिभ्सविरुद्ध नेपाल ११–० ले विजयी भएको छ। सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको साफ महिला च्याम्पियनसिपमा नेपालले पहिलो जित निकाल्दा स्ट्राइकर रेखा पौडेल र मिडफिल्डर प्रीति राईले ह्याट्रिक पूरा गरे। रेखाले एक्लै पाँच गोल गरिन्। उनी नै खेलको प्लेयर अफ दी म्याच घोषित भइन्। सबिता रानामगर, अनिता केसी र अमिशा कार्कीले समान एक गोल गरे।

रेखाले पहिलो  हाफमा  दुई तथा दोस्रो हाफमा एक गोल गर्दै ह्याट्रिक गरेकी हुन्। पाँच गोल गर्ने क्रममा रेखाले ३२, ४२, ४८,  ६३ र ७८ औँ मिनेटमा गोल गरिन्। 

प्रीति राईले खेलको ६, २९ र ८९औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेकी हुन्। सबिता राना मगर र अमिशा कार्कीले समान एक गोल गरेका थिए। ६७औं मिनेटमा मैदान प्रवेश गरेकी अनिता केसीले पहिलो मिनेटमै गोल गरेकी हुन् । उनले गोल गर्दा नेपाल ८-० लिए अघि रह्यो। 

यसअघि नेपालले पहिलो हाफमा ४-० को अग्रता बनाएको थियो । प्रशिक्षक राजेन्द्र तामाङले भुटानविरुद्ध खेलेका कप्तान तथा गोलकिपर अन्जिला तुम्बा सुब्बासहित पाँच खेलाडीलाई विश्राम दिएका थिए। 

६ हजार समर्थक माझ सजनी थोकरले  दोस्रो हाफमा डेब्यु पाइन्। प्रशिक्षक तामाङले दोस्रो रोजाइकी गोलकिपर अन्जना रानामगरको स्थानमा तेस्रो रोजाइकी गोलकिपर उषा नाथलाई दोस्रो हाफमा मौका दिएका थिए। 

प्रतियोगिताको दोस्रो खेलमा  नेपालको पहिलो जित हो। यसअघि पहिलो खेलमा भुटानसँग गोलरहित बराबरी  खेलेको थियो।  कमजोर मानिएको माल्दिभ्सविरुद्ध नेपालले पहिलो हाफमै चार गोल गरेको हो।

फ्रान्सबाट आएकी फर्वार्ड साबित्रा भण्डारी बेन्चमा रहेकी छिन्। सुरुबाटै गोल भएपछि उनीलाई मौका दिन प्रशिक्षक तामाङले आवश्यक नै ठानेनन्।

आज नै भएको पहिलो खेलमा भुटानले श्रीलंकालाई हराएको छ। समान चार अंक भए पनि गोल अन्तरका आधारमा  नेपाल समूह बीको शीर्ष स्थानमा छ। भुटान दोस्रो स्थानमा छ।  सेमिफाइनल पुग्ने टोलीको टुंगो अन्तिम खेलबाट मात्रै हुनेछ।

सुझावित समाचार