सिराहाको सुखीपुर नगरपालिका– १०, ललसहियास्थित गागन खोलाको बगरमा करिब एक साताअघि पाँच युवाहरूले आफूहरूसँगै रहेका साथीले महिला बोलाउन खोज्दा भएको विवादमा कैँची प्रहार गरी हत्या गरेको खुलेको छ।
जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार सुखीपुर– १०, शिवचोकमा मेला हेर्न गएका गोलबजार नगरपालिका– १३ दुर्गापुर डङ्ग्राहा बस्ने श्रीदेव मोचीका छोरा करिब २१ वर्षीय कृष्णकुमार महराको हत्या आरोपमा स्थानीय पाँच युवालाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दा चलाइएको छ। पक्राउ गरिएकाहरूलाई २ कात्तिकदेखि लागू हुने गरी सिराहा जिल्ला अदालतबाट सात दिनको म्याद थप गराई महेशपुर पतारस्थित इलाका प्रहरीमा राखेर थप अनुसन्धान भइरहेको उनले बताए।
दसैँमा गाउँनजिकै लाग्ने दुर्गा मेला हेर्न गत असोज २७ गते साँझ घरबाट हिँडेका महरा घर नफर्किएपछि खोजी गर्ने क्रममा भोलिपल्ट दिउँसो शिवचोकनजिकै रहेको गागन खोलाको बगरमा आधा शरीर गाडिएको अवस्थामा मृत भेटिएका थिए। उनको हत्यामा संलग्न रहेको आरोपमा गोलबजार– १३, दुर्गापुर डङ्ग्राहाका २७ वर्षीय सन्तोषकुमार महरा, १९ वर्षीय रोहितकुमार महरा, २१ वर्षीय धर्मेन्द्र महरा, १९ वर्षीय धीरजकुमार राम र २० वर्षीय मो. जमसेदलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
लागुऔषध सेवनपछि महिलाको विषयमा विवादका कारण हत्या
प्रहरीका अनुसार पक्राउ गरिएका रोहित र मृतक सँगै दुर्गा मेला हेर्न शिवचोक निस्किएका थिए। मेलामा गाउँका अन्य पाँचजना साथीहरू भेटिएपछि घुमफिर गरी राति लागुऔषध सेवनका लागि मेलादेखि पूर्वपट्टि गागन खोलाको बगरमा गएका मृतकसहित सातजनाले गाँजा, नाइट्राभेट ट्याब्लेट सेवन गरेको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार त्यसपछि मृतकले नाम थर नखुलेकी महिला साथीलाई बोलाउन खोज्दा उनीसँग रहेका ६ जनाले पनि भेट्ने कुरा गरेपछि विवाद भएको खुलेको छ। महिला भेट्ने विषयमा विवादपछि ६ जनाले कृष्णकुमारलाई खोलाको बगरमै घेरा हाली कैँचीले घाँटी तथा पेटमा प्रहार गरी हत्यापछि खोलाको पश्चिमपट्टिको बगरमा खाल्डो खनेर गाडी फरार भएको प्रहरीले जनाएको छ।
खाल्डोमा कम्मरमाथिको भाग मात्र गाडेर फरार भएका पाँचजनालाई खोजतलासको क्रममा २ कात्तिकको राति आ–आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरी अदालतबाट म्याद थप गरिएको महेशपुर पतार प्रहरीका प्रमुख प्रहरी निरीक्षक नवीनराज मैनालीले बताए। प्रहरीले घटनामा संलग्न रहेको आरोपमा शव भेटिएकै दिन अनुसन्धानका लागि पक्राउ गरिएका स्थानीय १९ वर्षीय युवकको बारेमा भने केही खुलाएको छैन।