मानसिक क्षमता र उमेरलाई लिएर ट्रम्प र ह्यारिसबिच आरोप–प्रत्यारोप

मानसिक कमजोरीका कारण ट्रम्प सामूहिक बहस र अन्तर्वार्ताबाट भाग्न खोजेको आरोप ह्यारिसले लगाउँदै आएकी छिन्

सोमबार, ५ कार्तिक, २०८१
डिजिटल संस्करण

अमेरिकामा राष्ट्रपति निर्वाचन नजिकिँदै छ । चुनाव नजिकिँदै जाँदा राष्ट्रपतिका उम्मेदवारको क्षमतामाथिको बहस पनि बढ्न थालेको छ । निर्वाचनमा उमेर पनि एउटा महत्वपूर्ण कारक बनेको छ । निर्वाचन अभियानमा बुढ्यौली उमेरलाई लिएर आलोचना र मानसिक तथा शारीरिक क्षमतामाथि प्रश्न उठ्न थालेपछि राष्ट्रपति तथा डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनले चुनावी दौडबाट बाहिरिएको घोषणा गरे ।

उनले उपराष्ट्रपतिसमेत रहेकी कमला ह्यारिसलाई समर्थन गर्ने घोषणा गरे । त्यसपछि डेमोक्र्याटिक पार्टीभित्र उम्मेदवारीको विषयलाई लिएर बहस साम्य भए पनि प्रतिद्वन्द्वी रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको उमेर र उनको मानसिक क्षमतामाथि प्रश्न उठाउन थालिएको छ । डेमोक्र्याटिक उम्मेदवार ह्यारिसले हरेक चुनावी र्यालीमा ट्रम्पको बढ्दो उमेर र उनको मानसिक क्षमतामाथि बारम्बार प्रश्न उठाउन थालेकी छिन् ।

ट्रम्प अमेरिकी इतिहासमै सबैभन्दा पाको उमेरमा राष्ट्रपतिका उम्मेदवार हुन् । उनी हाल ७८ वर्ष पुगेका छन् । ट्रम्पसँगको कडा चुनावी प्रतिस्पर्धाको अन्तिम चरणमा रहेकी कमला ह्यारिस भने आइतबार ६० वर्ष पुगेकी छिन् । उनले ह्वाइट हाउसका लागि ट्रम्पको मानसिक स्वस्थतामाथि लगातार प्रश्न गरेकी छिन् । तर, ट्रम्पका समर्थक र चुनावी अभियानकर्ताले उनको बचाउ गरेका छन् । बरु उनीहरूले ह्यारिसमा परिपक्वताको कमी देखिएको बताउँदै ट्रम्प मानसिक रूपमा सशक्त रहेको दाबी गरेका छन् । 

निर्वाचन हुन दुई साता बाँकी रहँदा डेमोक्रेटिक उपराष्ट्रपति र रिपब्लिकन अर्बपति कडा प्रतिस्पर्धामा छन् । सर्वेक्षणले दुवैजना उम्मेदवार उत्तिकै प्रतिस्पर्धामा रहेको र उनीहरूबिच कडा टक्कर हुने देखाएका छन् । दुवै उम्मेदवार फेरि पेन्सिल्भेनियामा आयोजित छुट्टाछुट्टै चुनावी र्यालीमा सहभागी हुँदै छन् । पेन्सिल्भेनिया सात प्रमुख राज्यमध्ये एक मानिन्छ ।

ट्रम्पविरुद्धको विनाशकारी बहसले डेमोक्रेटिक पार्टीमा आफ्नो मानसिक तीक्ष्णताबारे चिन्ता उठाएपछि बाइडेनले ह्यारिसलाई उम्मेदवारी हस्तान्तरण गरे । तर, सर्वेक्षणले ट्रम्पको उमेर मतदाताका लागि सम्झौताको विषय नभएको देखाएका छन् । मानसिक कमजोरीका कारण ट्रम्प सामूहिक बहस र अन्तर्वार्ताबाट भाग्न खोजेको आरोप ह्यारिसले लगाउँदै आएकी छिन् । ‘अहिले उनी थकानको कारण देखाई बहसबाट भाग्ने प्रयत्न गर्दै छन् र अन्तर्वार्ताहरू रद्द गरिरहेका छन्’, ह्यारिसले शनिबार अटलान्टामा आयोजित एक चुनावी र्यालीमा भनिन् । ट्रम्पको भद्दा र स्क्रिप्टबाहिरका भाषणप्रति व्यंग्य गर्दै उनले अगाडि थपिन्, ‘ट्रम्पले वास्तवमा बकबास कुरा गर्दै छैनन्, ।’ ह्यारिसले अक्टोबर १२ मा ट्रम्पको ‘उत्कृष्ट स्वास्थ्य’ उल्लेख गरिएको एक स्वास्थ्यसम्बन्धी रिपोर्टलाई लिएर पनि आलोचना गरेकी छिन् । तर, पूर्वराष्ट्रपतिको अभियानले ट्रम्प पूर्ण रूपमा स्वस्थ रहेको उल्लेख गरेको थियो ।

ह्वाइट हाउसका लागि दोस्रो कार्यकालको प्रतिस्पर्धा गरिरहेका ट्रम्पले शनिबार पेन्सिल्भेनियामा लामो भाषण दिएर ह्यारिसका आरोपको जवाफ दिएका थिए । एक अवसरमा उनले ह्यारिससँग ‘खरायोको जस्तो ऊर्जा नभएको’ बताएका थिए । दुवै उम्मेदवारले आफ्ना प्रतिनिधिहरूसँगै आफ्ना अन्तिम अभियानका दिन महत्वपूर्ण युद्धभूमि राज्यमा बिताइरहेका छन् । जित्नैपर्ने राज्यमा शृंखलाबद्ध कार्यक्रम आयोजना गर्दै टेस्ला र स्पेसएक्सका मालिक एलन मस्कले व्यक्तिगत रूपमा पेन्सिल्भेनियामा अभियान चलाइरहेका छन् । 

दक्षिणपूर्वी सहर ह्यारिसबर्गमा उनले आफ्नो संगठनको याचिकामा हस्ताक्षर गरेका राज्यका मतदाताहरूलाई नोभेम्बर ५ सम्म प्रत्येक दिन १० लाख डलर पुरस्कार वितरण सुरु गर्ने घोषणा गरेका छन् । ह्यारिसले पप स्टारहरू लिज्जो र असरलाई मतदाताहरूसँग आफ्नो मामला प्रस्तुत गर्न प्रतिनिधिका रूपमा खटाएकी छिन् । लिज्जोले डेट्रोइट र्यालीमा अमेरिका आफ्नो पहिलो महिला राष्ट्रपतिका लागि पूर्ण रूपमा तयार भएको बताएका थिए । 

सुझावित समाचार