सन्न्यास लिँदै मानबहादुरले भने– राष्ट्रिय भलिबल टोलीको कप्तान पदसँगै र राष्ट्रिय टोलीबाट अवकाश लिने निर्णय लिएको छु । यो निर्णय लिन सजिलो थिएन, तर अब आउने नयाँ पुस्ताका लागि मार्ग प्रस्तुत गर्न यो निर्णय लिएको हुँ ।
नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका स्पाइकर मानबहादुर श्रेष्ठले आइतबार सन्न्यास घोषणा गरेका छन् । श्रेष्ठले सामाजिक सञ्जालबाट राष्ट्रिय टोलीबाट सन्न्यास लिएको जानकारी दिएका हुन् । नेपाल भलिबल संघले राष्ट्रिय टोलीको ११औँ कप्तानका रूपमा उनलाई गत वर्षको साउनमा जिम्मेवारी दिएको थियो । गत साउनमा कप्तान बनेका श्रेष्ठले नयाँ पुस्तालाई अवसर दिन अन्तर्राष्ट्रिय भलिबलबाट बिदा भएको बताएका छन् ।
‘मैले राष्ट्रिय भलिबल टोलीको कप्तान पद त्याग्ने र राष्ट्रिय टोलीको खेलाडीबाट अवकाश लिने निर्णय लिएको छु,’ श्रेष्ठले भने । उनले सन्न्यास लिन सहज नभएको जनाएका छन् । नेपालको भलिबल युवा पुस्तालाई हस्तान्तरण गर्ने वेला आएकाले सन्न्यास लिएको उनले बताए । ‘यो निर्णय लिन सजिलो थिएन, तर अब आउने नयाँ पुस्ताका लागि मार्ग प्रस्तुत गर्नका लागि निर्णय लिएको हुँ,’ उनले भिडियोमा भनेका छन्, ‘यो जिम्मेवारी नयाँ पुस्तालाई सुम्पिने समय आएको छ ।’
श्रेष्ठले सन् २०१५ मा बंगलादेशमा भएको एभिसी सेन्ट्रल जोनबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए । त्यसपछि उनले लगातार नौ वर्ष राष्ट्रिय टोलीबाट महत्वपूर्ण भूमिका निर्वाह गर्दै खेलिरहे । उनकै कप्तानीमा नेपालले सन् २०१७ मा माल्दिभ्समा भएको एभिसी सिनियर पुरुष सेन्ट्रल जोन भलिबलमा पहिलो अन्तर्राष्ट्रिय कांस्य पदक जितेको थियो ।
काभामा रजत पदक
श्रेष्ठको कप्तानीमा नेपालले गत साउनमा भएको बिच भलिबलमा नेपालले रजत जितेको थियो । उनले १३औँ दक्षिण एसियाली खेलकुदमा राष्ट्रिय बीच भलिबल टोलीको कप्तानी सम्हालेका थिए । घरेलु भलिबलमा श्रेष्ठ त्रिभुवन आर्मी क्लबमा आबद्ध छन् । उनी आर्मीका कप्तान हुन् । गत वर्ष चीनको हाङझाउमा भएको १९औँ एसियाली खेलकुद (एसियाड)मा नेपालले भलिबलमा उनको कप्तानीमा प्रतिस्पर्धा गरेको थियो । नेपाली भलिबल इतिहासमा दुईपटक एसियाड खेल्नेमध्ये उनी एक हुन् ।