बाढीपहिरोले क्षति पुर्याएको देशकै ठुलो चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशी बन्द हुँदा असोजमा मात्रै ८५ करोडभन्दा बढी आम्दानी गुमेको छ । १०–१२ असोजको वर्षासँगै आएको पहिरोले परियोजनाको बाँध क्षेत्रका संरचना क्षतिग्रस्त हुँदा अहिले उत्पादन बन्द छ ।
प्रवर्द्धक कम्पनी अपर तामाकोशी हाइड्रोपावरले बर्खामा प्राधिकरणलाई विद्युत् बिक्री गरेबापत प्रतियुनिट तीन रुपैयाँ ५० पैसा र हिउँदमा चार रुपैयाँ ६ पैसा प्राप्त गर्छ । यो परियोजनाले गत आव ०८०/८१ मा विद्युत् बिक्री गरेर आठ अर्ब ७५ करोड २० लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीले विद्युत् बिक्री गरेर मासिक औसत ७३ करोड रुपैयाँ आम्दानी गर्छ । बर्खाको समयमा विद्युत् उत्पादन धेरै हुँदा आम्दानी पनि मासिक अर्ब रुपैयाँभन्दा बढी हुन्छ । तर, पहिरोले बाँध क्षेत्रका संरचना क्षतिग्रस्त हुँदा विद्युत् उत्पादन रोकिएर असोजमा मात्रै ८५ करोड ६ लाख ४७ हजार नौ सय ३० रुपैयाँबराबरको आम्दानी गुमेको कम्पनीका अध्यक्षसमेत रहेका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । उक्त कम्पनी प्राधिकरणकै सहायक कम्पनी हो । ‘यो त प्रवर्द्धक कम्पनीले गुमाएको आम्दानी मात्रै हो । त्यही विद्युत् बिक्री गरेर प्राधिकरणले प्राप्त गर्ने खुद आम्दानी पनि गुमेको छ । त्यस्तो आम्दानी कति गुम्यो भनेर तथ्यांक तयार भइसकेको छैन । प्राधिकरणको मात्रै थप ६० करोड रुपैयाँभन्दा बढी आम्दानी गुमेको अनुमान छ,’ उनले भने, ‘यही कारण निर्यातसमेत प्रभावित भएको छ ।’
यसअघि नेपालबाट आठ सय मेगावाटभन्दा बढी विद्युत् भारतमा निर्यात हुन्थ्यो । अहिले त्यो चार–पाँच सय मेगावाटमा सीमित भएको छ । आम्दानी नै गुमेपछि माथिल्लो तामाकोशी कम्पनीलाई ऋणको किस्तासमेत भुक्तानी गर्न चुनौती हुने जोखिम बढेको छ । ऋण धेरै भएका कारण अहिले परियोजनाले नाफा कमाउन सकेको छैन ।
१२ असोजमा माथिबाट ढुंगासहित खसेको पहिरोले बिगु गाउँपालिका– १, लामाबगरस्थित परियोजनाको बाँध क्षेत्रका संरचना (हेडवर्क्स)मा ठुलो क्षति पुगेको थियो । बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेको नियन्त्रण कक्ष (कन्ट्रोल रुम)को दुईतले भवनमा माथिबाट ठूला–ठूला ढुंगा बजारिएका थिए । त्यसले गर्दा कन्ट्रोल रुममा कार्यरत कम्पनीका दुई कर्मचारी र सुरक्षाका लागि खटिएका दुई सैनिक गरी चारजनाको मृत्यु पनि भएको थियो । उक्त भवन र त्यहाँ रहेका उपकरणहरू पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।
यसैगरी, बालुवा थिग्र्याउने दुई पोखरी (डिस्यान्डर) र बाँधबाट डिस्यान्डरसम्म पानी पुर्याउने दुई भूमिगत नहर (कल्भर्ट)मा ठुलो क्षति पुगेको थियो । डिस्यान्डरमा रहेका दुईवटा पोखरीमा लेदो, गेग्र्यान, ठुल्ठूला ढुंगा थुप्रिएका थिए । दुईवटा पोखरी प्रत्येकमा ७५–७५ हजार घनमिटर लेदो, ढुंगालगायत थुप्रिएको अनुमान गरिएको थियो । फलस्वरूप विद्युत्गृहसम्म पानी पुर्याउन सक्ने अवस्था नभएपछि परियोजना अहिले बन्द अवस्थामा छ । त्यसले गर्दा परियोजनामा दुई अर्ब रुपैयाँमाथिको क्षति भएको छ । साथै, आम्दानीसमेत नमज्जाले प्रभावित भएको छ । अहिले क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गर्ने काम भइरहेको छ ।
अर्धजलाशय प्रकृतिको यो परियोजना सरकारी स्वामित्वमा निर्माण गरिएको थियो । खुद ५२ अर्ब रुपैयाँ र ब्याजसहित ८४ अर्ब रुपैयाँ लागतमा असार ०७८ देखि यो परियोजना सञ्चालनमा थियो । ०६७ देखि परियोजनाको निर्माण सुरु भएको थियो ।
राष्ट्रिय ग्रिडको कुल जडित क्षमता ३३ सय मेगावाट हाराहारी हुँदा तामाकोशीको मात्रै चार सय ५६ मेगावाट योगदान छ । सबैभन्दा ठुलो र अर्धजलाशय प्रकृतिको भएकाले हिउँदको समयमा यसको महत्व धेरै छ । हिउँदमा दिनभरि पानी जम्मा गरी पिक आवरमा पूर्ण क्षमतामा यो परियोजना सञ्चालन गर्न सकिन्छ । यसले राष्ट्रिय विद्युत् आपूर्तिमा ठुलो योगदान छ । यही परियोजना बन्द हुँदा इकोनोमिक नोक्सानी भएको प्राधिकरणको भनाइ छ ।
निरीक्षण गर्दै ऊर्जामन्त्री खड्काले भने– पुनर्निर्माणमा मन्त्रालयले सहयोग गर्छ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बाढीपहिरोले क्षति पुर्याएको दोलखाको अपर तामाकोशी जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण गरेका छन् । मन्त्री खड्काले शनिबार आयोजनाको ड्याम साइड, पावरहाउस, सडकलगायतका भागमा भएको क्षतिको स्थलगत निरीक्षण गरेका हुन् ।
त्यसक्रममा उनले आयोजनामा क्षति पुग्दा राज्यलाई दैनिक ठुलो घाटा भएको बताउँदै यथाशक्य चाँडो यसलाई मर्मत–सम्भार गरी सञ्चालनमा ल्याउनुपर्ने बताए ।
‘आयोजना बन्द हुँदा भोलिका दिन देखिन सक्ने ऊर्जा संकटलाई ध्यान दिएर आयोजना निर्माणको काम द्रुत गतिमा गर्नुहोस्, मन्त्रालय आवश्यक सहयोग गर्न तयार छ,’ उनले बताए । निरीक्षणमा ऊर्जामन्त्री खड्कासँगै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्य, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, दोलखाका प्रमुख जिल्ला अधिकारी टुबराज पोखरेललगायतको उपस्थिति थियो ।
तीन हप्ताभित्र आंशिक सञ्चालनमा ल्याइने
परियोजनालाई तीन हप्तामा आंशिक सञ्चालन गर्ने तयारी गरिएको छ । परियोजनाको बायाँ डिस्यान्डरलाई सामान्य मर्मत गरेर अल्पकालीन (आंशिक) रूपमा सञ्चालन गर्न सकिने देखिएको छ । हाल त्यसको मर्मत–सम्भार गर्ने काम भइरहेको छ । तीन हप्तामा आंशिक रूपमा सञ्चालनमा ल्याउने गरी काम भइरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मोहनप्रसाद गौतमले बताए । तीन हप्ताभित्र नै थोरै भए पनि विद्युत् उत्पादन थाल्ने गरी काम गरिरेहको उनको भनाइ छ ।
उनका अनुसार अहिले हेडवर्क्स क्षेत्रमा थुप्रिएको ढुंगा, माटो र गेग्र्यान हटाउने काम भइरहेको छ । तर, दोलखादेखि लामाबगर सडकखण्डस्थित काभ्रेभिरआसपासमा ठुला ढुंगा खसेकाले बाटो अवरुद्ध छ । त्यसले पुनर्निर्माणलाई चाहिने सामग्री ढुवानी गर्न समस्या परेको उनले बताए । बाढीले परियोजनाको विद्युत् राष्ट्रिय ग्रिडमा जोड्ने तामाकोशी–खिम्ती प्रसारणलाइनको एउटा टावर पनि प्रभावित बनाएको छ । त्यसको पनि एक महिनाभित्र पुनर्निर्माण गर्ने प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताए । ‘बायाँ डिस्यान्डर तत्काल मर्मत गरेर सञ्चालन गर्न सकिने देखिएको छ । त्ययसलाई तत्काल मर्मत गरेर सञ्चालन गर्छाँै,’ उनले भने, ‘अर्काे दायाँ डिस्यान्डरमा भने धेरै नै क्षति पुगेको छ । त्यो बनाउन भने समय लाग्छ । त्यसको पुनर्निर्माण सकिएपछि बाँध डिस्यान्डरलाई विस्तृत रूपमा पुनर्निर्माण गर्नेछौँ ।’
आंशिक रूपमा सञ्चालनमा आए हट्नेछ लोडसेडिङको जोखिम
परियोजना आंशिक रूपमा सञ्चालनमा आएमा लोडसेडिङको सम्भावित जोखिम हट्नेछ । अहिले नै यो परियोजना बन्द भएकाले भारतमा गरिने विद्युत् निर्यात कटौती भएको छ । साथै, कम्पनीको दैनिक चार करोड रुपैयाँको आम्दानी गुमेको छ । हिउँदमा परियोजना सञ्चालनमा ल्याउन नसकेमा विद्युत् आयात बढाउनुपर्ने जोखिम छ । साथै, लोडसेडिङ नै गर्नुपर्ने बाध्यता पनि आउन सक्थ्यो ।
साथै, परियोजना बन्द हुँदा आर्थिक रूपमा पनि थप क्षति हुने थियो । विद्युत् आयात बढाउँदा थप खर्च हुने थियो । तर, एक महिनामा उक्त परियोजना सञ्चालनमा ल्याएमा त्यस्तो जोखिम हट्नेछ । कार्यकारी निर्देशक घिसिङका अनुसार पानी भएको अवस्थामा एउटा डिस्यान्डर प्रयोग गर्दा पनि पूर्ण क्षमता (४५६ मेगावाट)मै विद्युत् उत्पादन गर्न सकिन्छ ।