सुनसरीको इटहरी उपमहानगरपालिका– ६ टेङ्ग्रा खोलाको किनारमा इटहरी उपमहानगरपालिका– ४ का अनिल सन्तराज सिलौटा बनाउँदै गरेको अवस्थामा भेटिए। उनले लोहोरो, जाँतो, सिलौटोलगायत सामग्री बनाएर बिक्री गर्दै आएका छन्। सन्तराजले यही व्यापारबाट जीविकोपार्जन गर्दै आएका छन्।
उनले भने, ‘सिलौटा बनाउने हाम्रो पुर्ख्याैली पेसा नै हो । तीन पुस्तादेखि गरिँदै आएको पेसालाई मैले पनि निरन्तरता दिँदै आएको छु।’
इटहरी बजारको व्यस्त सडकमा चर्को घाममा सन्तराजले ढुंगाका सामग्री बिक्री गर्दै आएका छन्। नजिकैको खोलाकिनारमा प्लास्टिकको छानोमुनि दिनभर घन र छिनोको सहायताबाट उनले ढुंगालाई विभिन्न आकार दिनुका साथै बुट्टा भर्दै आएका छन्। उनले खोलाको किनारमा ती सामग्री बिक्रीका लागि लहरै राखेका छन्।
‘विदेशमा गएर दुःख गर्नुभन्दा यही पुर्ख्याैली पेसा सिलौटो व्यापारबाट आम्दानी गर्दै आएको छु। दिनभर यहीँ बसेर सामग्री तयार गर्छु, बेलुका घर फर्किन्छु। अहिलेसम्म यही व्यापारबाट परिवारलाई खान–लाउन पुगेको छ। आम्दानीसँगै आत्मसन्तुष्टि पनि मिलेको छ,’ सन्तराजले भने।
सन्तराजले दैनिक तीनदेखि चार जोरसम्म लोहोरो र सिलौटा बनाउँदै आएका छन्। ‘कहिले चार–पाँच वटासम्म बिक्री हुन्छ, कहिले कत्ति पनि बिक्री हुँदैन। व्यापार हो, सधैँ एकनास हुँदैन,’ उनले भने। लोहोरो, जाँतो, सिलौटालगायत सामग्री बिक्री गर्न सन्तराज जिल्लाका विभिन्न ठाउँ पुग्ने गरेका छन्। सिलौटो बनाउने ढुंगा मोरङको केराबारी, जाँते, लेटाङ, धुलाबारीलगायतका स्थानबाट ल्याउने गरेको उनले बताए।
व्यापारबाट घरखर्च कटाएर मासिक रु. ४० हजारसम्म आम्दानी हुँदै आएको सन्तराजले जानकारी दिए। उनले एउटै ठाउँलाई व्यापार गर्ने थलो बनाएका छन्। छोराले पनि उनलाई साथ दिँदै आएका छन्। ‘पुर्ख्यौली पेसाको संरक्षण पनि भयो । साथमा आम्दानी पनि हुने भएकाले यो पेसालाई निरन्तरता दिएको हुँ,’ उनले भने।
सन्तराजले केही सामान ग्राहकको मागअनुसार बनाउने गरेका छन्। एउटा सिलौटो तथा जाँतो बनाउन एक घण्टादेखि डेढ घण्टासम्म लाग्छ। उनले एउटा सिलौटो रु चार सयदेखि रु ५ सय ५० सम्ममा बिक्री गर्ने गरेका छन्। एक जोर जाँतो रु एक हजारदेखि रु एक हजार तीन सयसम्ममा बिक्री गर्दै आएका छन्। पछिल्लो समय आफ्नो व्यवसाय सङ्कटमा पर्दै गएको उनको भनाइ छ। कुटानी पिसानीका लागि विभिन्न उपकरण बजारमा आएसँगै सन्तराजको पेसा सङ्कटमा परेको हो।