१० कक्षाका विद्यार्थीको शैक्षिक नतिजा सुधारका लागि काठमाडौं महानगरपालिकाले दसैँ र तिहार पर्वका बिचमा ‘फेस्टिभल क्याम्प’ आयोजना गर्ने भएको छ । क्याम्पमा सहभागी हुन दुई हजार २७७ जनाले चासो देखाएका छन् । सहरी योजना आयोगका सदस्य शैलेन्द्र झाका अनुसार ११ वटा स्रोत केन्द्र र एसइईमा १५० भन्दा बढी विद्यार्थी भएका पाँच ठुला विद्यालय गरी १६ विद्यालयलाई क्याम्प सञ्चालन गर्ने केन्द्रका रूपमा उपयोग गरिनेछ ।
क्याम्पका लागि कम्तीमा १५० जना विद्यार्थी सहभागी हुनुपर्नेछ । विद्यार्थीलाई क्याम्पमा सहभागी हुन अनिवार्य गरिएको छैन । एउटा कक्षामा कम्तीमा २५ जना र बढीमा ३५ जना विद्यार्थीलाई सहभागी गराइनेछ ।
गणित, विज्ञान र सामाजिक विषयमा सहयोग गर्ने गरी परियोजनामा आधारित कक्षा चल्नेछन् । स्टिम शिक्षाशास्त्रको सिद्धान्त, इ–लर्निङ, उत्प्रेरणात्मक कक्षा, कला, संगीत, खेलकुद, सांस्कृतिक कार्यक्रम, क्याम्प फायर र स्टारगाजिङमा सहभागी हुन पाउनेछन् । कक्षा १० का विद्याथीलाई अध्ययनप्रति रुचि जगाउनु कार्यक्रमको मुख्य उद्देश्य हो ।