सुन तस्करीमा कारबाही सिफारिस भएका एसपीलाई उत्कृष्ट अनुसन्धानकर्ताको पुरस्कार

बुधबार, ३० असोज, २०८१
डिजिटल संस्करण
सुन तस्करीमा कारबाही सिफारिस भएका एसपीलाई उत्कृष्ट अनुसन्धानकर्ताको पुरस्कार

प्रहरी दिवसको अवसरमा मंगलबार एसपी सञ्जयसिंह थापालाई पुरस्कार प्रदान गर्दै प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर

सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले कारबाही सिफारिस गरेका एसपी सञ्जयसिंह थापालाई प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले उत्कृष्ट अनुसन्धानकर्ताका रूपमा पुरस्कृत गरेका छन् । ब्रेक सुमार्फत भएको सुन तस्करी घटनाको अनुसन्धानमा बदनियत राखेको भन्दै थापासहितका प्रहरीमाथि आयोगले गत चैतमा कारबाही सिफारिस गरेको थियो । ६९औँ प्रहरी दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा सोही अनुसन्धानमा उत्कृष्ट काम गरेको भन्दै महानिरीक्षक कुँवरले उनलाई पुरस्कृत गरेका हुन् । 

पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको जाँचबुझ आयोगले सिआइबीकी तत्कालीन एआइजी किरण बज्राचार्य, एसपी थापा र डिएसपीद्वय दुर्गा दाहाल र रुगम कुँवरमाथि कारबाही सिफारिस गरेको थियो । केही आरोपीलाई कागज गराएर भगाएको, राजनीतिक नेतृत्वलाई जोगाएको आरोपमा कारबाही सिफारिस भएको थियो । आयोगको प्रतिवेदनका आधारमा एसपी थापालाई तत्कालै नुवाकोटको प्रहरी प्रमुखबाट हटाइएको थियो । तर, कसैमाथि पनि विभागीय कारबाही भएको थिएन । कारबाही सिफारिसमा परेकी एआइजी बज्राचार्य हाल काठमाडौं उपत्यका प्रहरी कार्यालयको प्रमुख छिन् । 

उत्कृष्ट अनुसन्धानकर्तासम्बन्धी छनोटका लागि प्रहरी प्रधान कार्यालयले सुरुमा डिआइजी जनक भट्टराईको नेतृत्वमा समिति गठन गरेको थियो । भट्टराईको कर्णाली प्रदेशमा सरुवा भएपछि एसएसपी गोविन्द थपलिया नेतृत्वमा समिति बनेको थियो । सोही समितिको सिफारिसलाई आधार बनाएर आइजिपी कुँवरले पुरस्कार दिएका हुन् । 

सुझावित समाचार