इजरायलले ह्वाइट हाउसलाई इरानमा नियोजित जवाफी आक्रमणका क्रममा त्यहाँको आणविक वा तेल सुविधालाई लक्षित नगर्ने आश्वासन दिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।
गत अक्टोबर १ मा इरानले इजरायलमा गरेको क्षेप्यास्त्र आक्रमणको प्रतिक्रियामा इजरायलले प्रत्याक्रमण गर्ने वाचा गरेको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले ह्वाइट हाउसलाई इजरायली प्रत्याक्रमणले सैन्य साइटहरूलाई मात्र लक्षित गर्ने आश्वासन दिएकाे एक अज्ञात अमेरिकी अधिकारीलाई उद्धृत गर्दै वासिङ्टन पोस्टले जनाएको छ।
गत हप्ता अमेरिकी राष्ट्रपति जो बाइडेन र नेतान्याहूबिच भएको फोनवार्ताका साथै अमेरिकी रक्षासचिव लोयड अस्टिन र उनका इजरायली समकक्षी योब ग्यालान्टबिचको कुराकानीमा यो प्रतिज्ञा भएको एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै वाल स्ट्रिट जर्नलले जनाएको थियो।
क्षेत्रीय युद्धको थप विस्तारबाट बच्न र विश्वव्यापी ऊर्जाको मूल्यवृद्धिको चिन्ताको बिचमा राष्ट्रपति बाइडेनले इजरायललाई इरानको आणविक वा तेल सुविधाहरूमा आक्रमण नगर्न चेतावनी दिएका थिए।