राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले अन्तरव्यवस्थापिका संघका अध्यक्ष डा. तुलिया अक्सन र महासचिव मार्टिन चुङगोङसँग शिष्टाचार भेटवार्ता गरेका छन्।
जेनेभामा भएको भेटमा नेपालको संघीय संसद् र अन्तरव्यवस्थापिका संघसँगको आपसी सहकार्य, सहयोग आदानप्रदान, लोकतन्त्रका लागि संसदीय भूमिकालगायतका विषयमा छलफल हुने दाहालको सचिवालयले जनाएको छ।
अध्यक्ष दाहालले आइपियूका विभिन्न सभा तथा कार्यक्रमले लोकतन्त्र, मानव अधिकार, लैंगिक समानता, युवा सशक्तीकरण, दिगो विकासलगायतका सवालमा संवाद, सहकार्य र असल अभ्यासहरूको आदानप्रदानबाट संसदीय भूमिका प्रभावकारी बनाउन सहयोग पुगेको बताए।
उनले संसदीय अभ्यास थप परिस्कृत गर्न र लोकतान्त्रिक संस्थाहरू थप सुदृढ गर्न अन्तरव्यवस्थापिका संघसँग आफूहरूले बलियो र घनिष्ठ सहकार्य गर्न इच्छुक रहेको बताए। सो अवसरमा उनले आइपियूसँग सीधा सम्पर्कमा रहन यसको सचिवालयमा नेपालको पनि सहभागिता गराउनतर्फ सोच्न आग्रह गरे।
सो अवसरमा अन्तरव्यवस्थापिका संघका अध्यक्ष डा. तुलिया अक्सनले नेपालले विगतदेखि नै आइपियूमा सक्रिय सहभागिता जनाएको भन्दै खुसी व्यक्त गरिन्। नेपालको संघीय संसदमा ३३ प्रतिशत महिला सहभागी हुनु निकै प्रशंसनीय रहेको भन्दै समावेशीकरणमा नेपालले राम्रो काम गरिरहेको बताइन्।
भेटमा नेपाली संसदीय प्रतिनिधिमण्डलका सदस्यहरूको पनि सहभागिता रहेको थियो।