दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छ : उपसभामुख राना

शनिबार, २६ असोज, २०८१
डिजिटल संस्करण

उपसभामुख इन्दिरा रानाले बडादसैँले सामाजिक, सांस्कृतिक एकता कामय राख्दै दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न ऊर्जा मिल्ने विश्वास व्यक्त गरेकी छिन् । बडादसैँ– २०८१ को अवसरमा शुभकामना शुभकामना सन्देश दिँदै उनले दसैँले सबैमा नयाँ जोस, जाँगर र उत्साह, उमंगसहित आपसी प्रेम, करुणा र अहिंसाको भावना बढ्नेछ भन्ने विश्वास व्यक्त गरिन् । 

उपसभामुख रानाले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृक्तिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबिचको एकता कायम गर्न साथै सामाजिक–सांस्कृतिक परम्परा, ऐक्यबद्धता, सहिष्णुता र सदभावलाई संरक्षण एवं प्रवर्द्धन गर्न दसैँको विशेष महत्त्व रहेको बताइन् । ‘दसैँ एकता र पुनर्मिलनको पनि चाड हो । मुलुक बहुसांस्कृतिक विविधताले भरिपूर्ण छ। संविधानले नेपाललाई धर्मनिरपेक्ष राज्यका रूपमा उल्लेख गरेको छ । जसले गर्दा सामाजिक–सांस्कृतिक चाडपर्व, मूल्यमान्यता तथा प्रचलन, रीतिरिवाज, परम्परा, संस्कार, संस्कृति राज्यको अभिन्न अंगका रूपमा छन्,’ शुभकामना सन्देशमा भनिएको छ ।

 विभिन्न क्षेत्र तथा समुदायमा रहेको सांस्कृतिक विविधताको सम्मान, संरक्षण र प्रवर्द्धन गर्न सकियो भने हाम्रा संस्कृति राज्यका अमूल्य सम्पत्तिको रूपमा रहनेछन् भन्दै उपसभामुख रानाले यसले प्रत्येक व्यक्ति तथा समुदायको पहिचान सुनिश्चित गरी राज्यप्रति आमनागरिकको अपनत्व विकास गर्न सहयोग मिल्ने विश्वास व्यक्त गरिन् ।  मुलुकमा नागरिकको अवस्था अझै पनि बदलिन सकेको भन्दै उनले नागरिकका अपेक्षा पूरा गर्न अविचलित भएर लाग्नु अहिलेको प्रमुख कार्यभार भएको उनले बताइन् । 

साथै उनले दसैँको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेकी छिन् । 
    
आश्विन शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म दुर्गा भवानीको पूजा–आराधना गरी दशौँ दिन टीका–जमरा ग्रहण गरी पूर्णिमाका दिनसम्म मान्यजनहरूको हातबाट आशीर्वाद लिई मनाइने हिन्दु धर्मावलम्बीहरूको महान् चाड दसैँलाई पारिवारिक जमघटको विशेष अवसरको रूपमा लिइने गरिन्छ । 

सुझावित समाचार