संयुक्त राष्ट्रसंघले शुक्रबार युद्धग्रस्त गाजामा लाखौँ बालबालिकालाई पोलियो खोपको आवश्यक दोस्रो मात्रा दिन आगामी साता सुरु हुने अभियान पहिलो चरणभन्दा ‘अझ जटिल’ हुने बताएको छ।
राष्ट्रसंघको स्वास्थ्य र बालबालिकासम्बन्धी एजेन्सीहरूले सोमबारदेखि गाजाभर १० वर्षमुनिका करिब पाँच लाख ९१ हजार सात सय बालबालिकालाई फलो-अप मात्राहरू प्रदान सुरु गर्न तयारी गरिरहेको बताएका छन्।
यो सेप्टेम्बर १ देखि १२ सम्म कार्यान्वयन गरिएको पहिलो खोप चरणको अनुसरण हो। यसलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को प्यालेस्टिनी क्षेत्रका प्रतिनिधि रिक पिपरकोर्नले शुक्रबार ‘एउटा विशाल उपलब्धि’ भनेर प्रशंसा गरे। घेराबन्दीमा परेको गाजापट्टीमा २५ वर्षमा पहिलोपटक पुष्टि भएको पोलियो केस रिपोर्ट गरिएपछि खोप अभियान सुरु भएको थियो।
अघिल्लो चरणजस्तै आगामी अभियान तीन चरणमा हुनेछ। यसमा लडाइँमा स्थानीयकृत ‘मानवीय विराम’को सहयोग लिएर पहिला मध्यगाजामा, त्यसपछि दक्षिणमा र अन्तिममा क्षेत्रको पहुँच गर्न सबैभन्दा कठिन उत्तरी भागमा खोप प्रदान गरिनेछ।
जेरुसेलमबाट भिडियो लिंकमार्फत बोल्दै पिपरकोर्नले पत्रकारहरूलाई अभियानको दोस्रो चरण सुरु गर्न तयार सयौँ टोलीप्रति आफूलाई ‘विश्वास’ भएको बताए। यद्यपि उनले ‘उत्तरमा भएका घटनाक्रमबाट चिन्तित’ रहेको स्वीकार गरे । त्यहाँ इजरायलले आफ्नो कारबाही नाटकीय रूपमा बढाएको छ र खाली गर्ने आदेशहरूको शृंखला जारी गरेको छ।