सभामुख देवराज घिमिरेले दसैँले समाजमा आपसी सहयोग, मेलमिलाप, सदभाव र समुदायबिच एकताको भावना जागृत गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्।
देश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै उनले यस्तो बताएका हुन्।
‘असत्यमाथि सत्यको विजय दसैँको सबैभन्दा ठुलो सन्देश हो। यसको सांस्कृतिक, धार्मिक र सामाजिक महत्त्व रहेको छ। दसैँले देवी दुर्गाप्रति आस्था अभिवृद्धिसँगै परिवार र समुदायबिचको सम्बन्धलाई बलियो बनाउन उत्तिकै भूमिका खेलेको छ। समाजमा आपसी सहयोग, मेलमिलाप, सदभाव र समुदायबिच एकताको भावना जागृत गर्न मद्दत गरेको छ,’ सभामुख घिमिरेले भनेका छन्।
पछिल्लो समय नेपाली हिन्दुले मात्र नभई अन्य धर्म-सम्प्रदायले समेत दसैँ मनाइरहेको सन्दर्भमा दसैँ सबै नेपालीको साझा चाडका रूपमा विकास भएको उल्लेख गर्दै उनले दसैँ नेपालीहरूको लोकचाडका रूपमा समेत स्थापित हुँदै गएको बताए।
शुभकामना सन्देशमा भनिएको छ, ‘परिवारका सदस्य, नातागोता तथा आफन्तबिच आत्मीयता साटासाट गर्ने, ठुलाबडाबाट टीका र जमरा थापेर आशिष लिनेजस्ता दसैँका मौलिक विशेषता छन्। पछिल्लो समय हिन्दुले मात्र नभई अन्य धर्म-सम्प्रदायले समेत मनाइरहेका सन्दर्भमा दसैँ सबै नेपालीको साझा चाडका रूपमा विकास भएको छ।’
सभामुख घिमिरेले दसैँको पूर्वसन्ध्यामा असोज दोस्रो साता मनसुनी प्रभावका कारण देशभर बाढीपहिरोले जनजीवन अस्तव्यस्त बनाएको सन्दर्भमा सुरक्षित र सावधानीपूर्वक यात्रा गरी दसैँ मनाउन अनुरोध गरेका छन्।