मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउत गद्दीका स्वकीय सचिव दीपक यादव अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन्। मधेशका पूर्वमुख्यमन्त्री राउतसँग केही समयदेखि असन्तुष्ट बनेका यादवलाई जसपाका उपमहासचिव प्रदीप यादवले शुक्रबार पार्टी प्रवेश गराएका हुन्।
नेपाल सरकारका खानेपानीमन्त्रीसमेत रहेका प्रदीपले गृहजिल्लामा रहेको समयमा जनता समाजवादी पार्टी नेपालका असन्तुष्ट नेता कार्यकर्तालाई आफ्नो पार्टीमा भित्र्याउन थालेका छन्।
स्रोतका अनुसार जनता समाजवादी पार्टी नेपालका महासचिवसमेत रहेका लालबाबुले एक वर्षअगाडि स्वकीय सचिवबाट यादवलाई हटाएपछि उनी असन्तुष्ट थिए। लालबाबु राउत मुख्यमन्त्री हुँदासम्म यादव स्वकीय सचिवको पूर्ण रूपमा जिम्मेवारी सम्हालेका थिए।