विद्युतीय धराप प्रयोग गरेर हात्ती मारेको आरोपमा ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी

बिहिबार, २४ असोज, २०८१
डिजिटल संस्करण

बाराको कोल्हबीमा विद्युतीय धराप थापेर जंगली हात्ती मारेको घटनाका आरोपीहरूलाई पक्राउ गर्न जिल्ला अदालत बाराले आदेश दिएको छ। 

हात्ती मारेको घटनामा अनुसन्धान गरिरहेको डिभिजन वन कार्यालय बाराको अनुरोधमा स्थानीय ६ जना आरोपीहरुमाथि थप अनुसन्धान गर्न जिल्ला अदालत बाराले पक्राउ गर्ने आदेश दिएको हो। 

‘पक्राउ पुर्जी जारी गरिसकेका छौँ, डिभिजन वन कार्यालय बाराका अनुसन्धान अधिकृत नेपाली साहले भने, ‘पक्राउ गरेर वन कार्यालयमा बुझाउन सम्बन्धित सबै निकायमा पत्राचार गरिसकिएको ।’ वन र आबादी जमिनको सीमामा विद्युत् प्रवाह गरेर राखिएको जिआई तारमा पारेर हात्ती मार्नेलाई पक्राउ गरेर कारबाही गरिने उनले बताए । 

पोस्टमार्टम रिपोर्ट र अन्य अनुसन्धानबाट पनि विद्युतीय धरापमा पारेर हात्ती मारिएको पाइएको र पर्सा राष्ट्रिय निकुञ्जको चिकित्सक टोलीले तयार पारेको पोस्टमार्टम रिपोर्टमा पनि करेन्ट नै लागेर हात्तीको मृत्यु भएको देखिएको साहले जानकारी दिए । धानबाली जोगाउने नाममा राखिएको विद्युतीय धरापमा परेर हात्ती मारिएको वनले जनाएको छ। 

अनुसन्धानको क्रममा डिभिजन वन कार्यालय सिमराले कोल्हबी नगरपालिका कार्यालयसँग हात्ती मरेको स्थाननजिकका जग्गाधनीहरूको नामावली पनि माग गरेको थियो । कार्यालयले कोल्हबी नगरपालिका र वडा नम्बर २ कार्यालयलाई पत्र पठाएर हात्ती मरेको स्थान भलुहिखोर पर्साकुनामा रहेको धानखेत धनीको नाम, थर र ठेगाना माग गरेको हो । 

टोलीले धानखेतको किसानसँग जग्गाधनी पुर्जा भए नभएको बारेमा पनि अनुसन्धान गरिरहेको छ। यसको लागि घटनास्थलको जिपिएस लोकेसन पनि लिएको र जमिनको हैसियत पत्ता लगाउन नापी कार्यालय बाराबाट पनि नक्सासमेत माग गरिएको अधिकृत साहले सुनाए । 

कोल्हबी नगरपालिका वडा नम्बर २ स्थित भलुहिखोरमा तामागढी साझेदारी वन क्षेत्रको सीमामा पर्ने स्थानीय रमेश जिसीको धान खेतको डिलमा गत असोज ६ गते बिहान एउटा वयस्क हात्ती मृत अवस्थामा फेला परेको थियो ।

हात्ती, बाघजस्ता ठुला र अन्य साना वन्यजन्तुको बासस्थानको रूपमा रहेको तामागढी क्षेत्रमा वन्यजन्तु र स्थानीयबिच निकै पहिलेदेखि नै द्वन्द चल्दैआएको छ।

हात्तीको आक्रमणबाट सोही क्षेत्रमा ४ वर्षअघि एक महिलाको ज्यान गएको थियो भने ५ महिनाअघि उक्त क्षेत्रमा एउटा पाटे बाघ टाउकोमा गोली लागेर मरेको अवस्थामा फेला परेको थियो।

सुझावित समाचार