इजरायल–गाजा युद्धको एक वर्ष : गाजामा बाइडेनले शान्तिको प्रयास त गरे, तर युद्ध विस्तारमा इजरायलको सहयोगी बने

बाइडेनले एकातर्फ इजरायललाई युद्धमा संयमता कायम गर्न आह्वान गरिरहेका छन्, अर्कोतर्फ इजरायललाई निर्वाध रूपमा हतियार दिइरहेका छन्

बिहिबार, २४ असोज, २०८१
डिजिटल संस्करण

इजरायलले लेबनानमाथि अतिक्रमण सुरु गर्नुअघि अमेरिकाले उसलाई संयमता अपनाउन आग्रह गरेको थियो । तर, इजरायलले अमेरिकी आह्वान बेवास्ता गर्यो । इजरायलले लेबनानमा आक्रमण गरेपछि पत्रकारहरूले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग त्यस कदममा कत्तिको सहज महसुस भइरहेको छ भन्ने प्रश्न गरेका थिए । बाइडेनले ठाडो उत्तर दिँदै भनेका थिए, ‘खासमा म युद्ध रोकिएको भए सहज महसुस गर्ने थिएँ । अहिलेसम्म युद्धविराम भइसक्नुपर्ने थियो ।’

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बाइडेनलाई पेलेर अघि बढेको यो अर्को घटना हो । राजनीतिशास्त्री इयान ब्रेमरले मध्यपूर्वमा जारी पछिल्लो युद्धमा बाइडेन सरकारको प्रभाव ‘शून्य’ रहेको त्यसै भनेका होइनन् । तर, यसमा गल्ती बाइडेनको पनि छ । 

बाइडेन एकातर्फ इजरायललाई युद्धमा थप तनाव नबढाउन र संयमता कायम गर्न आह्वान गरिरहेका छन्, अर्कोतर्फ इजरायललाई हतियार दिइरहेका छन् । यसले गर्दा, मध्यपूर्व क्षेत्रमा ऐतिहासिक शान्ति प्रयासको नेतृत्व गर्नुको साटो बाइडेन गाजाको विध्वंशमा इजरायलका प्रमुख मतियार बनेका छन्, इजरायलको मुख्य हतियार आपूर्तिकर्ता बनेर । बाइडेनको गलत नीतिको कारण गाजामा अभूतपूर्व विनाश निम्तिएको छ । गाजामा पछिल्लो एक वर्षमा मारिएका महिला तथा बालबालिको संख्या पछिल्लो दुई दशकको अवधिमा विश्वभरका युद्धमा मारिएको बराबर भएको अक्सफामको तथ्यांकले देखाउँछ । 

बाइडेन सरकारले युक्रेनलाई पनि हतियार सहयोग गरिरहेको छ, तर तिनमा कैयौँ सर्त राखेका छन् । तर, इजरायलको हकमा भने उनले कहिल्यै कुनै सर्त राखेनन् । सायद त्यस्तो सर्तले हेजबोल्लाहलाई इजरायलमाथि आक्रमणका लागि प्रोत्साहित गर्न सक्ने चिन्ताले पनि काम गर्यो होला । २००० पाउन्ड तौलको बम ढुवानीमा एकपटक अवरोध गरेबाहेक उनले हतियार आपूर्तिमा कुनै गम्भीर रोक लगाएनन् । यसले नेतान्याहुमा बाइडेनलाई सहजै बेवास्ता गर्न सकिने विश्वास बढायो । परिणामस्वरूप बाइडेनले क्षत्रीय शान्ति होइन, क्षेत्रीय युद्धलाई बढावा दिए, जुन द्वन्द्वमा अमेरिकासमेत तानिने जोखिम बढेको छ । 

बाइडेन सरकारले युक्रेनलाई पनि हतियार सहयोग गरिरहेको छ, तर तिनमा कैयौँ सर्त राखेको छ । तर, इजरायलको हकमा भने उनले कहिल्यै कुनै सर्त राखेनन् ।
 

‘मध्यपूर्वमा हामी स्पष्टतः नीतिगत रूपमा असफल देखिएका छौँ,’ म्यारिल्यान्ड राज्यका डेमोक्रेट सिनेटर क्रिस भान होलेनले भने । विदेश मामिलाका अन्य मुद्दामा बाइडेनका प्रशंसक रहेका होलेन गाजा युद्धमा लिएको नीतिका आलोचक हुन् । बाइडेन इजरायलमाथिको अमेरिकी प्रभाव प्रयोग गर्न अनिच्छुक रहेकाले यस्तो स्थिति आएको उनको विश्वास छ । ‘समस्या प्रवृत्तिमा छ, अहिलेको प्रवृत्ति हेर्दा प्रधानमन्त्री नेतान्याहुले निरन्तर अमेरिकालाई बेवास्ता गरिरहेका छन्, जसबापत उनले कुनै मूल्य चुकाउनु परेको छैन,’ होलेनेले भने । स्विडेनका पूर्वविदेशमन्त्री तथा शीर्ष संयुक्त राष्ट्रसंघीय अधिकारी जन एलियासन पनि नेतन्याहुबाट अमेरिकी राष्ट्रपति तथा सरकारको निरन्तरको अपमान भइरहेको बताउँछन् । 
अक्टोबर ७ को हमास आक्रमणपछि सुरु भएको गाजा युद्ध एक वर्ष पुगेको अवस्थामा बाइडेनको मध्यपूर्वी नीति व्यवहारिक भए पनि नैतिक रूपमा असफल देखिन्छ । यो नीति राजनीतिक रूपमा समेत असफल देखिने जोखिम बढेको छ । किनकि आगामी राष्ट्रपतीय चुनावमा डेमोक्रेट पार्टीकी उम्मेदवार वर्तमान उपराष्ट्रपति कमला ह्यारिसलाई नकारात्मक असर गर्ने सम्भावना बढेको छ । र, यदि इरान–इजरायलबिच युद्ध भड्किएमा त्यसले निम्त्याउने विशाल मानवीय क्षति र तेलको मूल्यवृद्धिले सबैलाई असर गर्नेछ । त्यसो भए गल्ती कहाँ भयो ? शान्ति स्थापनाका लागि चिन्तित भनिने बाइडेनको शासनकालमा आखिर युद्ध कसरी यति धेरै विस्तार भयो ? समस्या दृष्टिकोण र प्रयासमा छैन ।

बाइडेनले धेरै पक्षलाई एकैपटक सम्बोधन गर्ने खालको बृहत्तर योजना तयार गरेका छन्, जसले गाजामा युद्धविराम गराउने, साउदी–इजरायल सम्बन्ध सामान्यीकरण गर्ने र प्यालेस्टाइनीहरूलाई राष्ट्र दिलाउने र चीनलाई यस क्षेत्रमा प्रभाव विस्तार गर्न रोक्ने गरी साउदी–अमेरिका समबन्ध सबल बनाउने लक्ष्य समेटेको छ । योजना त बन्यो, तर बाइडेन आफ्नो योजनाको लक्ष्यमा पुग्न उनीसँग रहेको सामथ्र्य प्रयोग गर्न अनिच्छुक रहे । त्यहीकारण नेतान्याहुले आफ्नो फाइदा हुने गरी बाइडेनलाई फनफनी घुमाउन सफल भए ।

युद्धअघि अलोकप्रिय रहेका नेतान्याहु आगामी निर्वाचनमा पुनः निर्वाचित हुन सक्ने गरी लोकप्रिय हुँदै गएको एक मतसर्वेक्षणले देखाएको छ । अहिले त उनी इरानमाथि आक्रमणको योजना बनाउन थालेका छन् । यदि इजरायल–इरानबिच युद्ध भड्कियो भने अमेरिका पनि मध्यपूर्वको युद्धमा तानिनेछ । ‘मेरो विचारमा प्रधानमन्त्री नेतान्याहुले लामो समयदेखि इरानसँगको द्वन्द्वमा अमेरिकालाई तान्न चाहिरहेका थिए,’ भोन ओलेनले भने । 

अमेरिकाका कट्टरपन्थीहरूमाझ ‘नयाँ लेबनान’ विकास गर्ने र त्यसमार्फत मध्यपूर्वलाई नयाँ आकारमा ढाल्ने स्वप्निल गफ सुरु भएको छ । को विनाशले इजरायको सुरक्षा केही समय लम्बाउनेछ । तर, त्यसबाहेक सम्पूर्ण परिस्थिति तिनले चाहेजस्तो काबुमा छैन । यस छलफलले मलाई एक वर्षअघि इजरायलले हमासलाई केही महिनाभित्रै नष्ट गर्ने सम्झना दिलाइरहेको छ । त्यस्तै, २१ वर्षअघि इराक आक्रमणअघि पनि यस्तै स्वप्निल भविष्यवाणी गरिएका थिए : सद्दाम हुसेनलाई सत्ताच्यूत भए पनि मध्यपूर्वभरि प्रजातन्त्र र शान्तिको नयाँ युद्ध सुरु हुनेछ ।

अझ पछाडि जाने हो भने सन् १९८२ मा इजरायलले गरेको लेबनानको अतिक्रमणसम्म जानुपर्ने हुन्छ । सो अतिक्रमणको उद्देश्य दक्षिण लेबनान र इजरायलबिच ‘बफर’ क्षेत्र निर्माण गर्ने र बेरुतमा इजरायलमैत्री सरकार गठन गर्ने भन्ने थियो । तर, त्यसवेला इजरायल लेबनानमा नराम्ररी फस्यो, जसका कारण त्यस अवधिको युद्धलाई इजरायलको ‘भियनाम’ पनि भन्ने गरिन्छ । त्यही युद्धपछि हेजबोल्लाहको जन्म भयो । १० वर्षपछि इजरायल हेजबोल्लाहका नेता अब्बास अल–मुसाबीको हत्या गर्दा उसले राहतको सास फेरेको थियो । तर, अल–मुसाबीको स्थान लिएका हसन नसरल्लाह इजरायलका प्रभावकारी प्रतिद्वन्द्वी साबित भए । त्यसैले छोटो युद्धले शान्ति दिलाउँछ भन्ने कट्टरपन्थीहरूको दाबी मलाई खोक्रो लाग्छ । बाइडेनले पनि यसलाई बुझेका छन् । 

मध्यपूर्वलाई नयाँ आकार दिन अन्य धेरै रचनात्मक मार्ग छन् । गाजामा हुने युद्धविरामलले लेबनानबाट हुने रकेट प्रहार रोक्न सक्थ्यो । परिणामस्वरूप उत्तरी इजरायलबाट विस्थापित नागरिकहरू तिनका घर फर्किने माहोल बन्ने थियो । र, इजरायलको वास्तबिक सुरक्षा प्यालेस्टिनी राज्यको निर्माणबाट मात्र सम्भव छ । इरान र विश्वका शक्तिराष्ट्रबिच सन् २०१५ मा भएको आणविक सम्झौताले सो देशको आणविक कार्यक्रमलाई उल्लेख्य रूपमा कटौती गर्न सफल भएको थियो । तर, डोनाल्ड ट्रम्प सम्झौताबाट बाहिरिएपछि सो सफलता उल्टिन थालेको छ ।

इजरायलले अमेरिकाबाट किनेको हतियारलाई अन्तर्राष्ट्रिय मानव–अधिकारसम्बन्धी कानुन उल्लंघन गर्न प्रयोग गरेको हुन सक्ने तथ्य बाहिरिँदासमेत बाइडेनले इजरायललाई दिइरहेको हतियार आपूर्ति रोकेनन् । अमेरिकी कानुनले अमेरिकी मानवीय सहायता रोक्ने देशलाई हतियार आपूर्ति रोक्नुपर्ने व्यवस्था गरेको छ । ‘प्रोपब्लिका’ र ‘डेभेक्सक’ नामका दुई संस्थाले ‘युएस एजेन्सी फर इन्टरनेसनल डेभलपमेन्ट’ले लेखेको पत्र हात पारेका छन् जसमा उसले इजरायलले अमेरिकी सहायता रोकेको निष्कर्ष निकालेको छ । तर, बाइडेनले ती चिन्तालाई लत्याउँदै हतियार आपूर्ति रोकेनन् ।

बाइडेनअघिका अन्य राष्ट्रपति इजरायलको अमेरिकी हतियारमाथिको निर्भरतालाई प्रयोग गरेर ऊमाथि दबाब सिर्जना गरेको इतिहास छ । लिन्डन जोनसनयताका लगभग सबै अमेरिकी राष्ट्रपतिहरूले इजरायलमाथि दबाब सिर्जना गर्न उसलाई दिइँदै आएको हतियार आपूर्ति या त रोकेका छन् या रोक्ने धम्की दिएका छन् । त्यस्ता धम्कीपछि इजरायल अनिच्छापूर्वक अमेरिकी स्वार्थको दिशामा अघि बढ्न तयार भएको छ ।

विज्ञहरू इजरायलको सुरक्षा संयन्त्र अमेरिकाबाट हुने हतियार तथा हतियारका पार्टपुर्जाको आपूर्तिमा हुने जुनसुकै ढिलाइप्रति धेरै संवेदनशील रहेको बताउँछन् । यसले गर्दा इजरायली राजनीतिज्ञहरू वासिङ्टनसँग मतभिन्नता समाधान गर्न दबाब महसुस गर्ने गर्छन् । इजरायलमाथि दबाब सिर्जना गर्नमा बाइडेन सरकारले देखाएको असफलताले अमेरिकाका अन्य भूराजनीतिक स्वार्थमा समेत असर पुर्याएको छ । यसको उदाहरण युक्रेनप्रतिको समर्थनलाई लिन सकिन्छ ।

अमेरिकाले युक्रेनमा ‘विधिमा आधारित अन्तर्राष्ट्रिय व्यवस्था’को सम्मानको माग गर्ने, तर गाजामा आमनागरिकहरूलाई लक्षित गर्ने समूहलाई हतियार उपलब्ध गराएर दोहोरो चरित्र प्रदर्शन गरेको चर्चा हुन्छ । बाइडेनको शासनकालको विदेश नीति सफलतामध्ये एक मानिने चीनविरुद्ध एसियाली देशको गठबन्धनको निर्माणलाई समेत गाजा नीतिले असर पुर्याइरहेको छ । दक्षिणपूर्वी एसियामा गरिएको एक मतसर्वेक्षणमा अधिकांशले गाजा युद्ध तिनको पहिलो भूराजनीतिक चिन्ता भएको बताए र तिनले अमेरिका र चीनबिच एकलाई छान्नुपर्ने अवस्था आए तिनको देशले चीनलाई रोज्नुपर्ने मत जाहेर गरेका छन् । ‘(गाजा युद्धमा अमेरिकाको भूमिका)ले मित्रराष्ट्र तथा साझेदारबिच अमेरिकाको उचाइ निकै होचिएको छ,’ इजिप्टका पूर्वविदेशमन्त्री नबिल फाहमीले भने । 

अक्टोबर ७ को हमासको आक्रमणको एक वर्षपछि पनि दर्जनौँ नागरिक अझै गाजामा बन्धक बनाइएका छन् । गाजा क्षेत्रमा हमास निकै कमजोर भएको भए पनि इजरायली दाबीअनुसार समूह नष्ट भएको छैन । त्यस्तै, इजरायली ‘सेटलर्स’हरूको(प्यालेस्टिनीहरूबाट जमिन खोसेर आफ्नो बनाउने) दमन सामना गरिरहेका पश्चिम किनारावासीहरूमा हमासप्रतिको समर्थन बढ्न थालेको छ । ‘नेतान्याहुप्रति अमेरिकाको अन्ध समर्थनले पश्चिम किनारामा इजरायली सेटलर्सका गतिविधि बढिरहेको छन्,’ प्यालेस्टिनी गान्धिका उपनामले चिनिने इसा अमरोले भने ।

गाजामा इजरायली आक्रमणबाट १० हजारभन्दा बढी बालबालिका मारिइसके । करिब दुई हजार बालबालिकाले हातखुट्टा गुमाएका छन् । ४० प्रतिशत बालबालिकाहरू अहिले अभिभावकविहीन भएकाले अरूको शरणमा बाँचिरहेको भयावह अवस्था छ । ८५ प्रतिशत बालबालिका कुनै न कुनै दिन भोकै रहेको तथ्यांक बाहिरिरहेको छ । र, इजरायलीहरू पनि एक वर्षअघिभन्दा बढी सुरक्षित भएका छैनन् । मध्यपूर्वमा तैनाथ अमेरिकी फौजसमेत पहिलेभन्दा बढी नाजुक अवस्थामा छन् । यमनछेउको समुद्र यात्रा जोखिमपूर्ण बनेको छ । यस्तोमा कतै पनि सुरक्षा र शान्तिको प्रत्याभूत हुन छाडेको छ । र, सबैभन्दा निराशाजनक कुरा, अहिलेको अवस्थाबाट बाहिरिने कुनै स्पष्ट योजना नजरमा आउँदैन । ‘न कुनै योजना देखिन्छ, न कुनै मापदण्ड । जताजतै मृत्यु मात्रै देखिँदै छ,’ हतास इजरायली प्राज्ञ ओरी गोल्डवर्गले भने ।

मध्यपूर्वमा यस्तो भयावह स्थिति छाइरहँदा बाइडेनले त्यसलाई थप भयावह हुन दिने गरी अमेरिकी हतियारको आपूर्तिमा निरन्तरता दिए । लेबनानमा युनिसेफमा काम गर्ने एटी हिगिन्सले मलाई एकजना सात वर्षिया लेबनानी बालिकाबारे बताएका थिए, जसले इजरायली हमलामा परिवारका १५ जना सदस्य गुमाइन् । एउटा विस्फोटमा उनले आमाबुबासहित सबै दाजुभाइ–दिदीबहिनी गुमाइन् । म उनी र बाइडेनबिचको भेटको कल्पना गर्छु, जसमा उनले बाइडेनलाई प्रश्न गर्नेछिन् कि ‘तपाईंले मेराजस्ता परिवार मार्ने बम किन उपलब्ध गराउनुभयो ?’ यस प्रश्नको जवाफ बाइडेनले कसरी दिन्थे होलान् ?

(दुईपटकका पुलित्जर पुरस्कार विजेता निकोलस क्रिस्टोफ न्युयोर्क टाइम्सका स्तम्भकार हुन् ।)द न्युयोर्क टाइम्सबाट 

सुझावित समाचार