सल्यानमा फोर्स गाडी दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। नेपालगन्जबाट रुकुम पश्चिम जाँदै गरेको लु.२ख ५००२ नम्बरको फोर्स गाडी बिहीबार बिहान सल्यान कुमाख गाउँपालिका– ३ गुरेली खोलामा दुर्घटना भएको हो ।
दुर्घटनामा परी घाइते हुनेहरूमका रुकुम पश्चिम चौरजहारी नगरपालिका– १ का ३३ वर्षीय त्रिलोचन गिरी, सल्यान कुमाख गाउँपालिका– ३ का २२ वर्षीय सन्तोष राना, ५५ वर्षीय वसन्त भारती, ३२ वर्षीया गीता बुढा, ६० वर्षीया वसन्ता भारती रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
यस्तै, कुमाख गाउँपालिका– १ की २८ वर्षीया विष्णु चन्द, ३४ वर्षीय घनश्याम केसी, वडा नं. ३ का २२ वर्षीय पारस भारती, २३ वर्षीया सम्झना भारती, वडा नं. ६ का २५ वर्षीय हरि सुनार, वडा नं. ३ का १५ वर्षीय विनोदनाथ योगी, १८ वर्षीया विनतानाथ योगी घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले जानकारी दिए ।
यस्तै, वडा नं. १ की १३ वर्षीया सलिना शाही, २१ वर्षीय दीपकनाथ योगी, २० वर्षीया सुजाता बुढाथाेकी र २० वर्षीया विन्दु लामिछाने रहेका छन् । घाइते १६ जनामध्ये १४ जनालाई चौरजहारी मिसन अस्पताल रुकुम पश्चिम पठाइएको छ भने त्रिलोचन गिरी र गीता बुढालाई नेपालगन्ज रिफर गरिएको उनको भनाइ छ ।
ब्रेक फेल भएर भित्ताका गाडी ठोक्किँदा गाडीमा सवार २० जनामध्ये १६ जना घाइते भएको प्रहरीको भनाइ छ । गाडीचालक कुमाख गाउँपालिका– ३ का २२ वर्षीय वसन्त बुढाथोकी फरार रहेको र उनको खोजीकार्य भइरहेको प्रहरीको भनाइ छ ।