बेँसीसहर नगरपालिकाद्वारा कैदीबन्दीलाई खसी र खाद्यान्न वितरण

बुधबार, २३ असोज, २०८१
डिजिटल संस्करण

लमजुङको बेँसीसहर नगरपालिकाले कारागारका कैदीबन्दीलाई दसैँखर्चस्वरूप दुईवटा खसी र खाद्यान्न सहयोग गरेको छ।

नगरपालिकाले दसैँमा थौरै भए पनि राहत पुगोस् भन्ने उद्देश्यले बुधबार कारागारमा पुगेर सहयोग गरेको जनाएको छ।

नगरपालिकाले सामाजिक सहायता शीर्षकबाट कैदीबन्दीलाई ४० हजार रुपैयाँबराबरको खसी र खाद्यान्न वितरण गरेको हो। सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले कारागारमा बन्दी जीवन बिताइरहेकाहरू परिवारबाट टाढा रहने भएकाले सबैले सहयोग गरेर उनीहरूलाई चाडपर्वमा खुसी दिनुपर्ने बताए।

बेँसीसहर नगरपालिकाले विगत वर्षहरूदेखि नै कैदीबन्दीलाई दसैँमा सहयोग गर्दै आएको छ। सहयोग हस्तान्तरण कार्यक्रममा नगर उपप्रमुख पद्मा गुरुङ, वडा नम्बर ७ का अध्यक्ष ऋषिराम बस्नेत, नगरपालिकाका प्रेस सल्लाहकार कृष्ण केसी, अन्य कर्मचारीलगायतको उपस्थिति रहेको थियो।

सुझावित समाचार