मारवाडी सेवा समिति नेपालले गौशाला धर्मशाला मुद्दाको अन्तिम किनारा नलागेसम्म संस्थाको गतिविधिमा अड्चन नपुर्याउन पशुपति क्षेत्र विकास कोषलाई आग्रह गरेको छ।
बुधबार विरोध प्रदर्शनसहित विज्ञप्ति जारी गर्दै मारवाडी समितिले जिल्ला अदालतको फैसलाको पूर्णपाठ आएपछि पुनरावेदन गर्ने अधिकार रहेको भन्दै मुद्दाको अन्तिम किनारा नलागेसम्म बाधा नगर्न आग्रह गरेको हो। गौशाला धर्मशाला सञ्चालनको जिम्मेवारी काठमाडौं महानगरपालिकालाई दिने निर्णय गर्दै कोषले धर्मशाला खाली गर्न समितिलाई निर्देशन दिएको थियो।
‘घटस्थापनाको अघिल्लो दिन असोज १६ गते सम्मानित जिल्ला अदालतबाट आदेश भएको र घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म अदालत बिदामा रहने हुनाले उक्त आदेशको पूर्णपाठ आएपछि सोउपर उच्च अदालतमा पुनरावेदन गर्न पाउने अधिकार सुरक्षित रहेको हुँदा उक्त मुद्दाको अन्तिम किनारा नलागेसम्म’ संस्थाको गतिविधिमा अड्चन नपुर्याउन मारवाडी समितिले आग्रह गरेको हो।
पशुपति गौशाला धर्मशाला बहालमा नभई मोहीका रूपमा सञ्चालन गरिरहेको समितिको दाबी छ। ‘२०२१ सालको नापीको फिल्डबुक, मालपतको श्रेस्ता र २०४४ सालको नापीको फिल्डबुक, गुठी संस्थानको श्रेस्ता र पशुपति क्षेत्र विकास कोसको मोही लगत नम्बर ८३७ कायम रहेको व्यहोरा अनुरोध गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ।
