होटेल संघ पोखराले तिहारसम्म ३० प्रतिशत छुट दिने

बुधबार, २३ असोज, २०८१
डिजिटल संस्करण

होटेल संघ पोखरा नेपालले तिहारसम्म पाहुनालाई आवासमा ३० प्रतिशतसम्म छुट दिने घोषणा गरेको छ । चाडपर्वको समयलाई लक्षित गरी संघले आफ्ना सदस्यअन्तर्गतका होटेल प्रतिष्ठानमा बडादसैँदेखि तिहार आवासमा पाहुनालाई ३० प्रतिशतसम्म छुटको घोषणा गरेको मंगलबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

अहिले चाडबाडको समय रहेकाले यही अवसरमा छुटको योजना संघले ल्याएको होटेल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । छुट योजनासँगै आफूहरू स्वदेशी तथा विदेशी पर्यटकलाई पोखरामा स्वागत गर्न आतुर रहेको उनको भनाइ छ । छुटबाट लाभान्वित हुन आन्तरिक पर्यटकलाई संघले अनुरोधसमेत गरेको उनले बताए ।

भ्रमण र पदयात्राका लागि पोखरा र सिंगो गण्डकी प्रदेश सबै मौसमका लागि उपयुक्त छ भन्ने मान्यताअनुरूप विगत केही वर्षदेखि संघले विविध कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ । पर्यटन क्षेत्रले भोग्दै आएका थुप्रै समस्या र चुनौती सामाना गर्दै यस क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनमा संघ निरन्तर अगाडि बढिरहेको उनले बताए । 

‘विगतमा पर्यटन क्षेत्रले लामो द्वन्द्व, भूकम्प, नाकाबन्दी, कोभिड–१९ को महामारी, हवाई दुर्घटनाको मार र वित्तीय अराजकताजस्ता समस्याबाट गुज्रनुपरेको र हाल आएर पुनः बाढीपहिरोको कहरले यो क्षेत्रलाई उसैगरी प्रत्यक्ष प्रभावित पारेको छ,’ उनले भने, ‘एकपछि अर्को समस्याको बाबजुद पर्यटन क्षेत्रको उज्ज्वल भविष्य सम्झेर व्यवसायी सकारात्मक सोचका साथ अगाडि बढिरहेका छौँ ।’ केही दिनअघिको बाढीपहिरो र विपत्तिले घुम्ने क्रम र वातावरणमा केही नकारात्मक भए पनि अहिले अवस्था सामान्य भएको र पोखरामा पर्यटक घुम्न आउने क्रमले निरन्तरता पाएको भन्दै सुवेदीले पर्यटक आगमन दर थप बढेर जाने अपेक्षा संघले गरेको बताए । 

सुझावित समाचार