नवलपुरको हुप्सेकोटमा रहेको लेकबेँसी सामाजिक महिला उद्यमी सहकारी संस्थाले दसैँ लक्षित गरेर खसी–बोका बिक्री सुरु गरेको छ । गाउँघरका अन्य मानिसलाई दसँैको किनमेल गर्न, घरआँगन सरसफाइ गर्न, रङरोगन गर्न भ्याई–नभ्याई भएझैँ हुप्सेकोटका महिलालाई भने अहिले दसैँका लागि खसी–बोका बिक्री गर्न भ्याई–नभ्याई भएको छ ।
गाउँबाट खसी–बोका खरिद गरेर हुप्सेकोटको
झ्यालबासमा रहेको लेकबेँसी सामाजिक महिला उद्यमी सहकारीले बजारसम्म खसी–बोका पुर्याउने गर्छ । यहाँ ठूला व्यापारीदेखि साना व्यापारी तथा स्थानीय बासिन्दाहरू पनि खसी–बोका खरिदका लागि आउने गरेको सहकारीकी अध्यक्ष नुनमाया थापामगरले जानकारी दिइन् ।
गाउँघरमा उत्पादित खसी–बोका दसैँ खर्च जोहो गर्न गाउँ–गाउँबाट ल्याएर बिक्री गरिएको हुप्सेकोट–६ का किसान एवं बराजु आधारभूत विद्यालय भडारीका प्रधानाध्यापक हिराबहादुर सारूले बताए । गाउँमा उत्पादित खसी–बोका बजारसम्म पुर्याउन लेकबेँसी सामाजिक महिला उद्यमी सहकारीले एक दशकअघिदेखि बजार व्यवस्थापनको काम गर्दै आएको छ ।
सुरु–सुरुमा व्यापारीलाई खोजी–खोजी बोलाउनुपर्ने वा खबर गर्नुपर्नेमा अहिले भने व्यापारीहरू सहकारीमा खसी–बोका लिन आउने गरेको सहकारीका व्यवस्थापक सुशीला परियारको भनाइ छ । साथै, उनले अहिले खसी–बोका बेच्न भ्याई–नभ्याई भएको सुनाइन् । यसपटकको दसैँमा एक हजार खसी–बोका बिक्री गर्ने लक्ष्य राखेको सहकारीले हालसम्म एक करोड रुपैयाँबराबरको आठ सयभन्दा बढी बिक्री गरिसकेको परियारको भनाइ छ ।
सहकारीले गाउँ–गाउँबाट किसानले उत्पादन गरेका खसी–बोका सहकारीमा ल्याउने र सहकारीबाट व्यापारी र स्थानीयलाई बिक्री गर्ने गर्छ । त्यसका लागि सहकारीले हरेक खसी–बोकाबाट प्रतिकिलोमा पाँचदेखि १० रुपैयाँ व्यवस्थापन शुल्क लिने गरेको छ ।
सहकारी स्थापनापछि किसानलाई खसी–बोका बिक्री गर्न समस्या हटेको, बजारमा ठगिने डर पनि नरहेको र खसी–बोका बिक्री नहोला कि भन्ने चिन्ता पनि हराएको प्रधानाध्यापक सारूले बताए ।