नेपाली युवा टोलीले काभा यू–२० पुरुष भलिबल च्याम्पियनसिपमा दोस्रो जित निकालेको छ । श्रीलंकाको कोलम्बोमा चलिरहेको च्याम्पियनसिपको आफ्नो तेस्रो खेलमा नेपालले मंगलबार माल्दिभ्समाथि ३–० को सहज जित निकालेको हो ।
नेपालले माल्दिभ्सलाई सुरुका दुई सेटमा सहजै हराएको थियो । तेस्रो सेटमा माल्दिभ्सले फर्कने प्रयास गरेको थियो । तर, नेपालले माल्दिभ्सलाई पर्याप्त अंक जोड्न दिएन । समग्रमा नेपाल २५–५, २५–१२ र २५–२० ले विजयी भयो । यसअघि नेपालले पहिलो खेलमा घरेलु टोली श्रीलंकालाई ३–० को सोझो सेटमा हराएको थियो । सोमबार उज्वेकिस्तानले नेपालमाथि ३–१ को जित दर्ता गरेको थियो ।
अब, नेपालले २४ असोजमा किर्गिस्तानसँग खेल्नेछ । लिग चरणको अन्तिम खेलमा नेपालले २५ असोजमा तुर्किमेनिस्तानको सामना गर्नेछ । प्रतियोगिताको शीर्ष दुईमा रहने टोलीबिच फाइनल खेल हुनेछ ।