पूर्वाधार विकासमा नेपालको गति कति धिमा छ भन्ने उदाहरण बन्न सक्छ, ‘नेपाल–चीनमैत्री औद्योगिक पार्क’ । दुई वर्षभित्र सक्ने गरी साढे तीन वर्षअघि शिलान्यास भएको औद्योगिक पार्कको हालसम्म पनि निर्माण नै सुरु भएको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले १६ फागुन ०७७ मा झापाको दमक, कमल र गौरादहको संगम स्थलमा बन्ने गरी नेपाल–चीनमैत्री औद्योगिक पार्कको शिलान्यास गरे । २१ सय बिघा क्षेत्रफलमा बन्ने भनिएको चीन–नेपालमैत्री पार्कको शिलान्यास मात्र गरेनन्, दुई वर्षभित्र एक सय उद्योग स्थापना गरिसक्ने उद्घोष गरे ।
ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको आर्थिक वर्ष ०७८/७९ बजेटमा समेत औद्यागिक पार्कलाई दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने उल्लेख गरेको थियो । प्राथमिकताका साथ शिलान्यास गरिएको औद्योगिक पार्कको निर्माण द्रुत गतिमा हुनेमा स्थानीय आशावादी थिए । तर, आधारभूत प्रक्रियासमेत अघि नबढाउँदा साढे तीन वर्षसम्म औद्योगिक पार्क अलपत्र छ । ओली फेरि प्रधनामन्त्री बने । तर, उनले शिलान्यास गरेको औद्योगिक पार्क अझै अलपत्र छ ।
नेपाल–चीनमैत्री औद्योगिक पार्कमा उद्योग स्थापनाका लागि चीनको ल्हासा इकोनोमिक एन्ड टेक्नोलोजी डेभलपमेन्ट जोन जिङफिङ जोइन्ट क्रिएसन कन्स्ट्रक्सन प्रोजेक्ट डेभलपमेन्टले लगानी गर्ने भनिएको थियो । तर, हालसम्म लगानी बोर्डसँग परियोजना विकास सम्झौता (पिडिए) पनि हुन सकेको छैन । काम सुरु गर्नुपूर्व पिडिए अनिवार्य हो । लगानी बोर्डले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई पहिला चिनियाँ कम्पनीसँग जग्गा सम्झौता गर्न पत्र लेखेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका सूचना अधिकारी कृष्णबहादुर पुनले जानकारी दिए । तर, जग्गा सम्झौताका लागि चीनको ल्हासा इकोनोमिक एन्ड टेक्नोलोजी डेभलपमेन्ट जोन जिङफिङ जोइन्ट क्रिएसन कन्स्ट्रक्सन प्रोजेक्ट डेभलपमेन्ट आउनबाट पछि हटेको उनले बताए ।
‘लगानी बोर्डमा हामीले पहल गरेका हौँ । तर, इच्छाशक्तिको कमी हो कि को हो ? काम भएन । पिडिए गर्नुपहिला जग्गा सम्झौता गर्नु भनेर पत्र आएको छ,’ उनले भने, ‘त्यसपछि हामीले सबै काम सकेर जग्गा सम्झौताका लागि चिनियाँ कम्पनीलाई बोलायौँ । चिनियाँ कम्पनी जग्गा सम्झौता गर्नबाट पछि हट्यो । पिडिए र जग्गा सम्झौता सँगै हुनुपर्ने कुरा उठायो । तसर्थ काम अघि बढ्न सकेन । तर, चिनियाँ कम्पनी जग्गा सम्झौता गर्न तयार भएको जानकारी आएको छ । अब दसैँलगत्तै जग्गा सम्झौता हुन्छ ।’
अझै टुंगिएन मुआब्जा विवाद
शिलान्यास भएको पनि साढे तीन वर्ष बित्यो । तर, अझै मुआब्जा विवाद कायमै छ । सरकारले मुआब्जामा अन्याय गरेको भन्दै चीन–नेपालमैत्री औद्योगिक पार्क प्रभावित सर्वोच्च अदालत पुगेका छन् । यद्यपि, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका सूचना अधिकारी कृष्णबहादुर पुनले एक अर्ब १८ करोड ४५ लाखबराबर मुआब्जा वितरण गरिसकेको बताए । चीन–नेपालमैत्री औद्योगिक पार्कका नाममा पाँच सय ६० बिघा जग्गा आइसकेको उनको भनाइ छ । अब पहिलो चरणमा करिब एक सय ५० बिघा जग्गा मात्र पार्कको नाममा आउन बाँकी रहेको बताए ।यद्यपि। प्रभावितले भने संघर्ष समिति नै बनाएर मुआब्जामा अन्याय गरेको भन्दै आपत्ति जनाइरहेका छन् ।
राज्यले जथाभावी मुआब्जा निर्धारण गरेर प्रभावितलाई सुकुमबासी बनाउन खोजेको दमक औद्योगिक पार्क सरोकार मञ्चका उपाध्यक्ष देवीप्रसाद दाहालले जानकारी दिए । ‘सरकारले औद्योगिक पार्क क्षेत्रको मुआब्जा निर्धारण व्यावाहारिक रूपले गर्न सकेको छैन । बाली लगाएका आधारमा मुआब्जा निर्धारण गरेको छ । बाली लगाएका आधारमा बिघाको दुई लाख, आठ लाख र २२ लाख मुआब्जा निर्धारण गरेको छ ।
यसले बाहिर गएर केही गर्छु वा अन्य ठाउँमा बसोवास गर्छुभन्दा केही पनि हुँदैन । कतिपय प्रभावितलाई रतुवा खोलाको बाढीले लखेटेको थियो,’ उनले भने, ‘अब राज्यले सुकुमबासी बनाउने भयो । यहाँको मुआब्जाले त सबै प्रभावित सुकुमबासी हुन्छन् ।’ सरकारमा बस्नेले स्थानीयलाई अन्याय गरेर कार्यकर्तालाई फाइदा हुने काम गरेको सरोकार मञ्चका अध्यक्ष खगेन्द्र भट्टराईले बताए ।