कञ्चनपुरको उत्तर–पूर्वी भेग कालापानी गाउँबाट नाै जुवाडे पक्राउ परेका छन्। शुक्लाफाँटा नगरपालिका– ७ कालापानीस्थित धामी कटेजमा जुवा खेलिरहेका नौजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता उमेशराज जोशीले मानसिंह ठगुन्नाले सञ्चालन गरेको धामी कटेजबाट गएराति नाै जुवाडे पक्राउ गरिएको बताए। प्रवक्ता जोशीका अनुसार उनीहरूको साथबाट एक गड्डी ताससहित ८१ हजार ४६० रुपैयाँ बरामद गरिएको छ।
पक्राउ पर्ने सबै एकै गाउँका रहेका छन्। शुक्लाफाँटा नगरपालिका– ७ कालापानीका विपिन सिंह, सौरभ सिंह, रघुवीर भट्ट, सौरव पाल, मानसिंह ठगुन्ना, नरेन्द्र सिंह, सिद्ध धामी, दीपक बोगटी र शंकर धामी रहेका छन्। उनीहरूमध्ये केही सरकारी कर्मचारीसमेत रहेकाे बताइएको छ।
पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको र जुवा ऐनअनुुरूप कारबाही गरिने प्रहरीले जनाएको छ।