एन अटिजम केयर फाउन्डेसनले अटिजम भएका बालबालिकाको सहयोगार्थ नेपालमा भारतीय गायक जुबिन नौटियालको कन्सर्ट गराउने भएको छ।
जुबिन नौटियालको कन्सर्ट १४ डिसेम्बरमा हायात होटेलको आँगनमा हुनेछ। सन् २०२२ मा नौटियालले उत्कृष्ट पार्श्व गायनका लागि आइफा अवार्ड पाइसकेका छन्।
फाउन्डेसनकी अध्यक्ष रमिला श्रेष्ठका अनुसार कन्सर्टबाट प्राप्त सबै आम्दानी फाउन्डेसनले अटिजम भएका बालबालिकाको सहयोगार्थ खर्च गर्नेछ।
‘हाम्रो मिसन भनेको अटिजम भएका व्यक्तिहरूसहित समावेशी समाज सिर्जना गर्नु हो। अटिजम भएका व्यक्तिले अटिजमसहित समाजमा सम्मानपूर्वक जीवन जिउन सक्छन् भन्ने स्थापित गर्नु हाम्रो उद्देश्य हो,’ श्रेष्ठले भनिन्।
श्रेष्ठ पनि अटिजमग्रस्त बालककी आमा हुन्। उनको चार वर्षको छोरालाई अटिजम छ। उनको छोरालाई १८ महिनाको उमेरमा अटिजम देखापरेको थियो।