प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि स्वदेशी र विदेशी जलविद्युत् कम्पनी र वित्तीय संस्थाहरूले सोमबार प्रधानमन्त्री केपी ओलीलाई सहयोग रकम हस्तान्तरण गरेका छन्।
प्रधानमन्त्रीनिवास बालुवाटारमा छिमेकी भारतको सबैभन्दा ठुलो जलविद्युत् कम्पनी राष्ट्रिय हाइड्रोपावर कर्पोरेसन (एनएचपिसी) लिमिटेडका वित्त निर्देशक आरपी गोयलबाट रु. १ करोड, अरुण तेस्रो जलविद्युत् आयोजना लिमिटेडका प्रमुख कार्यकारी निर्देशक प्रशान्त शर्माबाट रु. १ करोड, प्रभु बैंकका अध्यक्ष देवीप्रसाद भट्टचनबाट रु. १ करोड र प्राइम कमर्सियल बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठबाट रु. ३१ लाखको चेक हस्तान्तरण भएको हो।
यसैगरी, प्रभु इन्स्योरेन्स लिमिटेडका अध्यक्ष राजेन्द्र मल्लबाट रु. २५ लाख, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका अध्यक्ष शिक्षा भट्टचनबाट रु. २५ लाख र प्रभु क्यापिटलका अध्यक्ष एलपी भानु शर्माबाट रु. २५ लाखको चेक प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरिएको छ।
प्रधानमन्त्री ओलीले हालैको बाढी, पहिरो र डुबानबाट प्रभावितलाई राहतका लागि कोषमा सहयोग गरेकामा सबैमा धन्यवाद दिएको उनको स्वकीय सचिवालयले जनाएको छ।