युद्धविरामका लागि इजरायलमाथि ‘दबाब’ राेकिँदैन : ह्यारिस

सोमबार, २१ असोज, २०८१
डिजिटल संस्करण

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले इजरायल र अरब नेताहरूलाई बन्धक रिहाइ र गाजामा युद्धविरामका लागि सम्झौता गर्न अमेरिकाले आफ्नो ‘दबाब’ कम नगर्ने बताएकी छिन्।

‘वासिङ्टनले इजरायलसँग मानवीय सहायताका लागि काम गरिरहेको र ‘बन्धकहरूलाई रिहा गर्ने र युद्धविराम गर्ने सम्झौताको आवश्यकता छ। हामी इजरायल र अरब नेतासहित यस क्षेत्रमा दबाब दिने सन्दर्भमा रोकिनेछैनौँ,’ ह्यारिसले सिबिएसको ‘६० मिनेट्स’लाई दिएको अन्तर्वार्तामा भनिन्। 

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले ‘सुनिरहनुभएको छैन नि’ भनी सिबिएसका बिल ह्वाइटेकरले ह्यारिसलाई अन्तर्वार्ताका क्रममा ह्यारिसको भनाइप्रति प्रतिप्रश्न गरेका थिए।

डेमोक्य्राटिक पार्टीका तर्फबाट राष्ट्रपति पदकी उम्मेदवार ह्यारिसले अमेरिकी प्रयासका कारण इजरायलले त्यस क्षेत्रमा धेरै महत्त्वपूर्ण कामहरू गरेको तर्क गरिन्।

इजरायलमाथि इरानले गरेको क्षेप्यास्त्र आक्रमणको उल्लेख गर्दै उनले भनिन्, ‘इजरायललाई यसप्रकारका आक्रमणबाट आफ्नो प्रतिरक्षा गर्न हामीले सक्दो प्रयास गर्नु हामीलाई अनिवार्य छ।’

गाजामा अक्टोबर ७ मा हमासले एक्कासि आक्रमण गरेको एक वर्षको सन्दर्भमा इजरायल उच्च सतर्कतामा छ। इजरायलले लेबनानमा हमासको इरानसमर्थित सहयोगी हिजबुल्लाहतर्फ आफ्नो ध्यान केन्द्रित गरेको छ र इरानी क्षेप्यास्त्र आक्रमणको बदला लिने प्रतिबद्धता जनाएको छ।

गत वर्ष अक्टोबर ७ मा प्यालेस्टिनी लडाकु समूहले इजरायलमाथि गरेको आक्रमणमा परी एक हजार २०५ जनाको मृत्यु भएको थियो। इजरायलको जवाफी कारबाहीमा गाजामा कम्तीमा ४१ हजार ८७० जनाको मृत्यु भएको छ।

दुवै पक्षले गरेका आक्रमण र कारबाहीका क्रममा अधिकांश सर्वसाधारणको मृत्यु भएको थियो। 

ह्विटेकरले नेतन्याहु अमेरिकाको ‘वास्तविक र घनिष्ठ सहयोगी’ हो वा होइन भनी सोधेको प्रश्नमा ह्यारिसले भनिन्, ‘राम्रो प्रश्न के हो भने के अमेरिकी जनता र इजरायली जनताबिच महत्त्वपूर्ण गठबन्धन छ ? र, उक्त प्रश्नको जवाफमा कुनै दोधार छैन। अमेरिकी र इजरायली जनताबिच अत्यन्त्यै राम्रो सम्बन्ध छ।’

सुझावित समाचार