मानसिक स्वास्थ्य र जन्मजात विकलांग अवस्थाको पहिचान सेवा सुरु

सोमबार, २१ असोज, २०८१
डिजिटल संस्करण

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले मानसिक स्वास्थ्य र जन्मजात विकलांग अवस्थाको पहिचान सेवा सुरु गरेको छ । अस्पतालले आइतबारदेखि गर्भवती तथा सुत्केरीका लागि मानसिक स्वास्थ्य सेवा तथा बालबालिकामा जन्मजात रूपमा हुने विकलांग अवस्थाको पहिचान गर्ने सेवा सुरु गरेको हो । 

नेपालमा करिब २० प्रतिशत सुत्केरीमा मानसिक समस्या देखिने गरेको, तर उपचार सर्वसुलभ नभएकाले समस्या भइरहेको भन्दै प्रसूतिले मानसिक स्वास्थ्य सेवा सुरु गरेको जनाएको छ । मानसिक तनाव, एन्जाइटी, उदासीनताजस्ता समस्या गर्भवती तथा सुत्केरी अवस्थामा झन् बढी देखिने गरेकाले अस्पतालले उक्त सेवाको थालनी गरेको निर्देशक डा. श्रीप्रसाद अधिकारीको भनाइ छ ।

‘गर्भवती तथा सुत्केरी अवस्थामा हुने मानसिक तनाव तथा गम्भीर खालको स्वास्थ्य समस्या साइकोसिसलगायतको समयमा नै पहिचान गर्न सकेमा हाल उपलब्ध स्रोत–साधनबाटै प्रभावकारी रूपमा समाधान गर्न सकिन्छ । समयमै समस्या पहिचान गर्न सकेमा उपचार सजिलो हुने उद्देश्यले सेवा सुरु गरेका हौँ,’ उनले भने । साथै, जन्मजात रूपमा विकलांग हुने समस्यासमेत समयमै पत्ता लगाउन सकेमा उपचार प्रभावकारी रूपमा अगाडि बढाउन सकिने भएकाले यी अत्यावश्यक सेवा सुचारु गरिएको उनले बताए । अस्पतालका दुवै सेवाको आइतबार स्वास्थ्यमन्त्री प्रदीप पौडेलले उद्घाटन गरेका थिए । 

सुझावित समाचार