एस्टन भिल्लासँग बराबरीमा रोकियो युनाइटेड

सोमबार, २१ असोज, २०८१
डिजिटल संस्करण

म्यानचेस्टर युनाइटेडका प्रशिक्षक एरिक टेन हागले एस्टन भिल्लासँग गोलरहित बराबरी रोकिँदा राहत महसुस गरेका छन् । खराब प्रदर्शनबाट गुज्रिरहेको युनाइटेडले आइतबार भिल्ला पार्कमा प्रतिकूल नतिजा निकालेको भए प्रशिक्षक एरिकको पद संकटमा पर्न सक्ने सम्भावना थियो । तर, शीर्ष पाँच स्थानमा रहेको एस्टन भिल्लाविरुद्ध १ अंक खोसिँदा युनाइटेडका प्रशिक्षक एरिक खुसी देखिए । गत साता टोटनह्यामसँग ३–० ले पराजित हुँदा उनको पद संकटमा परेको आकलन गरिएको थियो । 

युनाइटेडका सहमालिक सर मी राटक्लिफ एस्टन भिल्लाविरुद्धको खेल हेर्न उपस्थित भएका थिए । युनाइटेडको प्रदर्शनपछि राटक्लिफले प्रशिक्षक एरिकबारे निर्णय लिनेछन् । गोलरहित बराबरी नतिजापछि केही समयका लागि भए पनि एरिकको पद सुरक्षित देखिएको छ । गत साता युरोपा लिगको साबिक विजेतासमेत रहेको युनाइटेडले पोर्चुगलको एफसी पोर्टोसँग ३–३ को नतिजा निकालेको थियो । पोर्टोविरुद्धको खेलमा युनाइटेड जितको एकदम नजिक थियो । तर, धेरै रक्षापंक्ति रणनीति अपनाउँदा युनाइटेड बराबरीमा रोकियो । 

इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्लासँगको खेलमा युनाइटेडका सिनियर खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन् । मार्कोस रास्फोर्डले भिल्लाका गोलरक्षक इमी मार्टिनेजविरुद्ध दुईपटक गोल प्रयास गरेका थिए । तर, मार्टिनेजको उत्कृष्ट बचाउमा युनाइटेडले अग्रता लिन सकेन । युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेजले दोस्रो हाफमा क्लोज रेन्जमा गोल गर्न नसक्दा प्रशिक्षक एरिक निराश देखिए । दोस्रो हाफमा युनाइटेडको प्रदर्शन राम्रो थियो । एन्टोनीले डिबक्सभित्र प्रहार गरेको प्रहारलाई गोलरक्षक मार्टिनेजले क्रसबारबाट बचाएका थिए । प्रतिस्पर्धात्मक खेलमा युनाटेडका गोलरक्षक एन्ड्रे ओनानाले भिल्लाका मिडफिल्डर योरीको प्रयासलाई विफल पारे । 

सुझावित समाचार