कान्ति लोकपथबाहेक हेटौँडा-काठमाडाैं जोड्ने सबै मार्ग सञ्चालन

सोमबार, २१ असोज, २०८१
डिजिटल संस्करण

हेटौँडालाई संघीय राजधानी जोड्ने छोटा मार्गहरू कुलेखानी–फाखेल–फर्पिङ र कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकखण्ड आइतबार दिउँसोबाट सञ्चालन भएका छन् ।कुलेखानी–फाखेल–फर्पिङ र कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकखण्ड सञ्चालन भएसँगै कान्ति लोकपथबाहेक हेटौँडालाई काठमाडौंसँग जोड्ने सबै मार्गहरू सञ्चालन भएका हुन् । गत ११ र १२ असोजमा परेको अविल वर्षासँगै आएको बाढी र पहिरोले यी सडकखण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका थिए।

बागमती प्रदेशको यातायात पूर्वाधार निर्देशनालयको तदारुकतामा कुलेखानी ड्याममुनि हेभीस्थित सिमखोलामा डाइभर्सन र भीमफेदी–कुलेखानी–फाखेल–फर्पिङ सडकखण्डको महालक्ष्मी खोलाले बगाएको बाटोमा कहीँ डाइभर्सन त कहीँ मर्मत गरेपछि कुलेखानी–फाखेल–फर्पिङ सडकखण्ड सञ्चालनमा आएको छ ।

यसैगरी, सिस्नेरी खोलाले बगाएको ज्यामिरेको बाटो र सिस्नेरी बजार खण्डमा बगरबाट डाइभर्सन बनाएपछि कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकखण्ड पनि पूर्ण रूपमा सञ्चालनमा आएको छ । यी सडक खण्डहरूमा आइतबारबाटै सवारीसाधन गुड्न थालेको प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री अमन मास्केले जानकारी दिए ।

मन्त्री मास्केले कान्ति लोकपथको मकवानपुर र ललितपुर जोड्ने बागमतीमाथिको बगुवा पुलको पहुँचमार्गमा डाइभर्सन निर्माण गरेर सञ्चालनको तयारी भइरहेको बताए। उनले एक–दुई दिनभित्रै कान्ति लोकपथ पनि सञ्चालन हुने दाबी गरे।

मन्त्री मास्केले हाललाई फाखेल र सिस्नेरी सडकखण्ड भने अस्थायी रूपमा सडक मर्मत र डाइभर्सन बनाएपछि तत्कालका लागि हेटौँडालाई काठमाडौंसँग जोड्ने सम्पूर्ण मार्गहरू सञ्चालन भएको बताए । ‘अहिलेलाई अस्थायी रूपमा बाटो खोलेका छाैँ । चाडपर्वको  आवश्यकता र स्थानीयलाई परेको समस्यालाई तत्काल समाधान गर्ने उद्देश्यले मार्गहरू सञ्चालन गरेका हौँ,’ उनले भने ।

मन्त्री मास्केले कुलेखानी–फाखेल–फर्पिङ र कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक सञ्चालन भएसँगै मुग्लिन, त्रिभुवन राजपथ र चन्द्रागिरिमा रहेको सवारीसाधनको चापलाई कम गर्न सघाउ पुग्ने बताए। उनले अप्ठ्यारो ठाउँ र डाइभर्सन भएका स्थानहरूमा एकतर्फी र अन्य स्थानमा दुवैतर्फबाट सवारीसाधन आवतजावत गर्न सक्ने जानकारी दिए। 

बागमती प्रदेशको यातायात पूर्वाधार निर्देशनालयका निर्देशक पुस्करप्रसाद पोखरेलले गत हप्ताको वर्षासँगै आएको बाढीपहिरोले पूर्ण रूपमा क्षतिग्रस्त बनेको कुलेखानी फाखेल सडकखण्डमा महालक्ष्मी खोलाले बाटो बगाएको स्थान र कुलेखानी–सिस्नेरी सडकखण्डअन्तर्गत सिमखोला र सिस्नेरी खोलामा अस्थायी ट्रयाक बनाएर बाटो सञ्चालन  गरिएको बताए । उनले ती सडक खण्डहरूमा अब असामान्य अवस्थामा भन्दा बाहेक समस्या नआउने दाबी गरे । 

उनले नयाँ खोलिएको ट्रयाकका कारण सवारी आवागमनमा अवरोध नहोस् र यात्रा सुरक्षित बनोस् भन्ने उद्देश्यले ट्रयाकलाई लगातार सम्याउने र ग्रेडिङ गर्ने काम गरेको पनि जानकारी दिए । केही स्थानमा अस्थायी रूपमा मर्मत गरिएको र नयाँ ट्रयाक खोलिएका कारण सवारीसाधन सञ्चालन गर्दा सावधानी भने अपनाउनुपर्ने बताए ।

निर्देशक पोखरेलले कुलेखानी ड्यामको मुनि सिमखोलामा बनाइएको डाइभर्सन, फाखेल सडक खण्डको महालक्ष्मी खोलाले बगाएको स्थान, सिस्नेरीको ज्यामिरे र सिस्नेरी बजार क्षेत्रमा भने प्राविधिक र एक्स्काभेटरहरूलाई तयारी अवस्थामा राखेको जानकारी दिए ।
 

सुझावित समाचार