१२ असोजको पहिरोले क्षगिग्रस्त चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् परियोजनाको बाँध क्षेत्रका संरचनाको पुनर्निर्माण गर्न न्यूनतम दुई अर्ब लगानी चाहिने प्रारम्भिक अनुमान गरिएको छ । दोलखास्थित उक्त परियोजना पुनर्निर्माणको काम गर्न भने कम्तीमा पनि ६–७ महिना लाग्ने अनुमान गरिएको छ । परियोजनामा भएका क्षतिको विवरण संकलन गर्ने, मूल्यांकन गर्ने काम भने अझै भइरहेको छ । त्यसपछि पुनर्निर्माण गर्न कति समय लाग्छ भनेर पनि यकिन गर्न सकिने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
प्राधिकरणको सहायक कम्पनी अपर तामाकोशी हाइड्रोपावरले यो परियोजना बनाएको थियो । खुद ५२ अर्ब रुपैयाँ र ब्याजसहित ८४ अर्ब लागतमा असार ०७८ देखि परियोजना सञ्चालनमा आएको हो । निरन्तरको वर्षाका कारण आएको पहिरोले बिगु गाउँपालिका– १, लामाबगरस्थित परियोजनाको बाँध क्षेत्रका संरचना (हेडवक्र्स)मा ठुलो क्षति पुगेको थियो । बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेको नियन्त्रण कक्ष (कन्ट्रोल रुम)को दुईतले भवनमा माथिबाट आएका ठुला–ठुला ढुंगा बजारिएका थिए । त्यसले गर्दा कन्ट्रोल रुममा कार्यरत कम्पनीका दुई कर्मचारी र सुरक्षाका लागि खटिएका दुई सैनिकको मृत्यु भएको थियो । उक्त भवन र त्यहाँ रहेका उपकरण पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।
यसैगरी, बालुवा थिग्र्याउने दुई पोखरी (डिस्यान्डर) र बाँधबाट डिस्यान्डरसम्म पानी पुर्याउने दुई भूमिगत नहर (कल्भर्ट)मा ठुलो क्षति पुगेको छ । डिस्यान्डरमा रहेका दुईवटा पोखरीमा लेदो, गेग्रान, ठुल–ठुला ढुंगा थुप्रिएका छन् । दुईवटा पोखरी प्रत्येकमा ७५–७५ हजार घनमिटर लेदो, ढुंगालगायत थुप्रिएको अनुमान गरिएको छ । फलस्वरूप विद्युत्गृहसम्म पानी पुर्याउन सक्ने अवस्था नभएपछि परियोजना अहिले बन्द अवस्थामा छ ।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले क्षतिग्रस्त संरचनालाई पुनस्र्थापित गर्न करिब दुई अर्ब रुपैयाँ लगानी चाहिने देखिएको बताए । ‘अहिले विवरण संकलन गरेर क्षति निक्र्योल गर्ने काम भइरहेको छ । प्रारम्भिक अध्ययनले पुनः निर्माणमा दुई अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ,’ उनले भने, ‘क्षतिको अन्तिम विवरण आएपछि यसको यकिन तथ्यांक आउनेछ ।’
प्राधिकरणले राष्ट्रिय बिमा कम्पनीमा परियोजनाको बिमा गरेको छ । त्योअनुसार बिमा दाबीबापत आउने पैसाले लगानी जुटाउन सहयोग पुग्ने उनको भनाइ छ । कम्पनीले परियोजनामा भएको बिमा दाबीयोग्य क्षतिको मूल्यांकन गर्ने प्रक्रिया अघि बढाइएको छ ।
न्यूनतम तीन सय मेगावाट उत्पादन
परियोजनालाई अबको एक महिनामा आंशिक रूपमा सञ्चालन गर्ने तयारी गरिएको छ । कम्पनीले डिस्यान्डरमा थुप्रिएका ढुंगा, लेदोलगायतको थुप्रो आइतबार हटाएको छ । शुक्रबारसम्म बाँध क्षेत्रमा पनि विद्युत् थिएन । शनिबार त्यहाँ विद्युत् पु¥याइएपछि मोटर प्रयोग गरेर बाँध, नहर र डिस्यान्डरमा थुप्रिएको ढुंगा, लेदोलगायतका थुप्रै हटाइएको छ । त्यस क्रममा बायाँ डिस्यान्डरलाई सामान्य मर्मत गरेर अल्पकालीन (आंशिक) रूपमा सञ्चालन गर्न सकिने देखिएको छ । साथै, त्यहाँ बाँधबाट नहर हुँदै पानी पु¥याउन पनि सकिने देखिएको छ । त्योअनुसार परियोजनालाई एक महिनामा अल्पकालीन रूपमा सञ्चालन गर्न सकिने देखिएको अपर तामाकोशी हाइड्रोपावरका प्रमुख कार्यकारी अधिकृत मोहनप्रसाद गौतमले बताए ।
‘बायाँ डिस्यान्डर सामान्य मर्मत गरेर सञ्चालन गर्न सकिने देखिएको छ । त्यसलाई अल्पकालीन रूपमा सञ्चालनमा ल्याउन एक महिनाजति समय लाग्नेछ । दसैँलगत्तै त्यसका लागि काम सुरु गर्छाैँ,’ उनले भने, ‘सकेसम्म तिहार (१८ असोज)भित्र वा एक महिनामा परियोजना सञ्चालनमा ल्याउनेछौँ ।’ एउटा मात्रा डिस्यान्डर प्रयोग गर्दा पानीको उपलब्धताअनुसार न्यूनतम तीन सय मेगावाटदेखि पूर्ण क्षमता (४५६ मेगावाट)सम्म विद्युत् उत्पादन गर्न सकिने उनले बताए । अहिले बाँध क्षेत्रमा जाने बाटो पहिरोका कारण अवरुद्ध भएको छ । त्यो हटाएर छिट्टै काम सुरु गर्ने परियोजनाको तयारी छ ।
पुनर्निर्माणमा कति समय लाग्छ ?
क्षतिग्रस्त संरचनालाई पुनस्र्थापना गर्न भने कम्तीमा ६–७ महिना लाग्ने अनुमान गरिएको छ । अहिले बायाँ डिस्यान्डरलाई अल्पकालीन रूपम सञ्चालन गर्ने र दायाँ डिस्यान्डर तथा कल्भर्ट (बाँधबाट डिस्यान्डरसम्म पानी पुर्याउने भूमिगत नहर) मर्मतको काम अघि बढाउने योजना बढाइएको छ । त्यहाँ ठुला–ठुला ढुंगा पनि रहेका छन्, त्यसलाई केमिकल प्रयोग गरेर फुटाउने तयारी छ । त्यसको पुनर्निर्माण गरेर सकेपछि बायाँ डिस्यान्डर प्रयोग गर्ने र दायाँको डिस्यान्डर तथा कल्भर्टको मर्मत गर्ने योजना बनाइएको छ । तर, कन्ट्रोल बिल्डिङ बनाउन भने केही समय नै लाग्ने देखिएको छ । पुरानो ठाउँमै कन्ट्रोल बिल्डिङ बनाउँदा भविष्यमा पनि यस्ता समस्या आउने जोखिम रहन्छ । तसर्थ, पुरानै ठाउँ वा अन्यत्रै कन्ट्रोल बिल्डिङ बनाउने विषयमा इन्जिनियरिङ परामर्श लिने तयारी भएको कम्पनीको भनाइ छ ।
परियोजना तिहारसम्ममा सञ्चालनमा ल्याउनेछौँ
मोहनप्रसाद गौतम सिइओ, अपर तामाकोशी हाइड्रोपावर
बायाँ डिस्यान्डर सामान्य मर्मत गरेर सञ्चालन गर्न सकिने देखिएको छ । त्यसलाई अल्पकालीन रूपमा सञ्चालनमा ल्याउन एक महिनाजति समय लाग्नेछ । दसैँलगत्तै त्यसका लागि काम सुरु गर्छाैँ । सकेसम्म तिहार (१८ असोज)भित्र वा एक महिनामा परियोजनामा सञ्चालनमा ल्याउनेछौँ । एउटा मात्रा डिस्यान्डर प्रयोग गर्दाको पानीको उपलब्धताअनुसार न्यूनतम तीन सय मेगावाटदेखि पूर्ण क्षमता (४५६ मेगावाट)सम्म विद्युत् उत्पादन गर्न सकिन्छ ।
तामाकोशीको उत्पादन बन्द हुँदा दैनिक चार करोड आम्दानी गुम्यो
परियोजना आंशिक रूपमा सञ्चालनमा आएमा सम्भावित जोखिम हट्ने कार्यकारी निर्देशक घिसिङले बताए । यो नेपालको सबैभन्दा ठुलो परियोजना हो । सबैभन्दा ठुलो र अर्धजलाशय प्रकृतिको भएकाले हिउँदको समयमा यसको महत्व धेरै छ । हिउँदमा दिनभरि पानी जम्मा गरी पिक आवरमा पूर्ण क्षमतामा यो परियोजना सञ्चालन गर्न सकिन्छ ।
यसले राष्ट्रिय विद्युत् आपूर्तिमा ठुलो योगदान छ । यसले हिउँदमा दिउँसो सय मेगावाटसम्म र पिक आवरमा चार सय ५६ मेगावाट नै विद्युत् उत्पादन गर्न सक्छ । त्यसले हिउँदमा विद्यत्को माग धान्न ठुलो सहयोग गर्छ । हिउँदमा यो परियोजना सञ्चालनमा नआएमा लोडसेडिङसम्मको जोखिम थियो । अहिले नै यो परियोजना बन्द भएर भारतमा गरिने विद्युत् निर्यात कटौती भएको छ । साथै, कम्पनीको दैनिक चार करोड रुपैयाँको आम्दानी गुमेको छ । हिउँदमा परियोजना सञ्चालनमा ल्याउन नसकेमा विद्युत् आयात बढाउनुपर्ने हुन्थ्यो । साथै, लोडसेडिङ नै गर्नुपर्ने बाध्यता पनि आउन सक्थ्यो ।
साथै, परियोजना बन्द हुँदा आर्थिक रूपमा पनि थप क्षति हुने थियो । ‘विद्युत् आयात बढाउँदा थप खर्च हुने थियो । यो परियोजनाबाट विद्युत् किनेबापत प्राधिकरणले कम्पनीलाई वार्षिक नौ अर्ब रुपैयाँ भुक्तानी गर्छ । प्राधिकरणले त्यही विद्युत् ग्राहकलाई बिक्री गरेर आम्दानी गर्ने हो । अब परियोजना नै बन्द भएपछि प्राधिकरण र कम्पनीको कारोबार प्रभावित भइरहेको छ,’ घिसिङले भने, ‘परियोजना बन्द हुँदा ‘इकोनोमिक’ रूपमा पनि ठुलो असर परेको छ । तर, एक महिनामा अल्पकालीन रूपमा परियोजना सञ्चालनमा ल्याउन सक्ने देखिएको छ । त्यो सफल भएमा यस्तो असर हुनेछैन ।’