जापानको एउटा निकै चर्चित साबुन कम्पनी आफ्नो गुणस्तर र विश्वस्तरीय ‘प्रोसेसिङ’का लागि परिचित थियो । उसको व्यापार पनि निकै राम्रो स्तरमा थियो । तर, अचानक कम्पनीसामु एउटा अनौठो समस्या आइलाग्यो । कम्पनीका एक ग्राहकले आफूले साबुनको कार्टुन खरिद गरेर लाँदा भित्र एउटा प्याकेट रित्तो भएको गुनासो गरेका थिए । कम्पनीका तर्फबाट गुनासोको छानबिन गर्दा गल्ती कम्पनीबाटै भएको पत्ता लाग्यो । प्याकेजिङ लाइनबाट डेलिभरी विभागमा पठाउँदै गर्दा एउटा प्याकेट खाली नै गएको थाहा भयो । घटनापछि कम्पनीको निकै बदनामी भयो । व्यापारमै प्रभाव पर्यो ।
आफ्नो गल्तीका लागि कम्पनीका अधिकारी चिन्तित देखिए । तुरुन्तै एक उच्चस्तरीय बैठक बोलाइयो । त्रुटि कसरी भयो र भविष्यमा यस्तो त्रुटि दोहोरिन नदिन के गर्ने भन्ने विषयमा गहन छलफल भयो । लामो छलफलपछि प्याकेजिङ लाइनको अन्त्यमा एउटा ठुलो र शक्तिशाली एक्सरे मेसिन जडान गर्ने र त्यसको नियमन एक ठुलो मनिटरमार्फत कर्मचारीले गर्ने निर्णय भयो । एक्सरे मेसिन जडानका लागि ठाउँ बनाउन सुरु भएपछि कम्पनीका तल्ला तहका कर्मचारी र मजदुरले पनि यसबारे थाहा पाए । तीमध्ये एक सामान्य कर्मचारीले एउटा फरक तरिका सुझाए, जसले गर्दा कम्पनीले महँगो मूल्यको एक्सरे मेसिन लगाउनु पनि परेन र अनुगमनका लागि ठुलो मनिटर र कर्मचारीको व्यवस्था पनि गर्नुपरेन ।
ती कर्मचारीले एउटा शक्तिशाली विद्युतीय पंखा प्याकेजिङ लाइनमा जडान गरेर सञ्चालन गरिदिए । अब साबुनको हरेक प्याकेटले पंखाको हावाको अगाडिबाट जानुपर्ने अवस्था भयो । जसले गर्दा खाली प्याकेट आएमा त्यसलाई हावाले उडाएर टाढा फ्याँकिदिन्थ्यो । अनि, खाली प्याकेट कार्टुनमा पर्नबाट जोगिन्थ्यो ।