पहिरोमा परी ज्यान गुमाउनेका परिवारलाई घरमै पुगेर सहयोग

शनिबार, १९ असोज, २०८१
डिजिटल संस्करण

एक साताअघिको बाढी र पहिरोमा परी ज्यान गुमाएका तीनजनाको परिवारलाई घरमै पुगेर राहत उपलब्ध गराइएको छ। पानी परिरहेका वेला शरीर भिज्नबाट जोगिन ओडारमुनि ओत लागेका वेला ओडार नै खस्दा पुरिएका धादिङको बेनीघाट रोराङ गाउँपालिका– ६ का जनता भनिने श्यामकुमार चेपाङ र सन्तबहादुर चेपाङ र घरमा आएको पहिरो सोर्ने क्रममा पहिरोले पुरिएर ज्यान गुमाएका थाक्रे गाउँपालिका– ६ का कान्छा राईको परिवारलाई उनीहरूको घरमा नै पुगेर राहत उपलब्ध गराइएको हो।

जिल्ला प्रशासन कार्यालय धादिङका सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालसहितको टोलीले मृतक तीनैजनाको घरमा पुगेर परिवारलाई रु. दुई लाखका दरले राहत रकम वितरण गरिएको हो। सरकारले तय गरेको स्वीकृत मापदण्डका आधारमा मृतकको परिवारलाई राहत रकम वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले बताए। 

‘राहत रकमको सदुपयोग होस् भनेर पालिकाको रोहबरमा वितरण गरेका छौँ। यो राहत रकमले थोरै भए पनि आफन्तको घाउमा मलमको काम गर्ने अपेक्षा गरेका छौँ,’ उनले भने। 

त्यस्तै, निरन्तरको वर्षासँगै गाउँकै खोलामा आएको भलले बगाएर ज्यान गुमाएकी गजुरी गाउँपालिका–८ की ६ वर्षीया युना तामाङको परिवारलाई वितरण गरिने राहत रकम प्रक्रियामा रहेको अर्यालले जानकारी दिए। कागजात जुटाउने तथा प्रक्रियामा रहेकाले केही दिनमै युनाको परिवारलाई पनि राहत रकम वितरण गरिने उनकाे भनाइ छ।

See More On

सुझावित समाचार