चाडपर्वमा विदेशबाट फर्किने नेपालीलाई सहजीकरण गर्न सशस्त्र प्रहरी बलले भारतसँगको सीमानाकामा सहायता कक्ष स्थापना गरी सहयोग गर्न थालेको छ।
शुक्रबारसम्म ६६ वटा सहायताकक्ष स्थापना भइसकेको र ५० वटा स्थापना हुने क्रममा रहेको सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी कुमार न्यौपानेले जानकारी दिए।
दसैँ, तिहार तथा छठपर्वलगायतका चाडवाडका समयमा सीमानाकाबाट आफ्नो गन्तव्यतर्फ जाने आमनागरिकलाई सहज, सुरक्षित र सम्मानजनक ढंगबाट यात्रा पूरा गर्ने व्यवस्था मिलाउन तथा आपतविपतमा परेका नागरिकको उद्धार कार्यमा सहयोग पुर्याउने अभिप्रायले दुवै देशका सुरक्षाकर्मीसँगको समन्वय र सहकार्यमा कक्ष राखिएको उनको भनाइ छ।
चाडपर्वको वेला सीमानाकाबाट आवतजावत गर्ने नागरिकको सुरक्षा, सीमा क्षेत्रमा हुने अवैध गतिविधि, चोरी, डकैती, लुटपाटजस्ता घटना हुन नदिन र अप्ठ्यारोमा परेका नागरिकको सहयोगसमेत गर्ने हेल्पडेस्कको मुख्य उद्देश्य छ।
त्यस्तै, पर्यटकलाई सहजीकरणका लागि सशस्त्र प्रहरीले आठवटा जिल्लामा पर्यटक सहायता कक्षसमेत स्थापना गर्ने भएको छ। पर्यटकहरू प्रवेश गर्ने इलाम जिल्लाको पशुपतिनगर, झापाको काँकडभिट्टा, धनुषाको जटही, पर्साको वीरगन्ज, रुपन्देहीको बेलहिया, कपिलवस्तुको कृष्णनगर, बाँकेको जमुनाह र कञ्चनपुर जिल्लाको गड्डाचौकीमा गरी आठ ठाउँमा पर्यटक सहायता कक्ष स्थापनाको प्रक्रिया सशस्त्र प्रहरी बलले अघि बढाएको छ।

आमनागरिक सीमानाकाबाट आवतजावत गर्दा सुरक्षाकर्मीले दुःख दिने तथा अनावश्यक हैरानी दिने कार्य भएमा सशस्त्र प्रहरी बल नेपालको प्रवक्ता तथा सूचना अधिकारी सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेको मोबाइल नम्बर ९८५१२७२००७, सहायक प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाको मोबाइल नम्बर ९८५१२६४७११ र अनुगमन तथा गुनासो व्यवस्थापन एकाइका सशस्त्र प्रहरी नायब उपरीक्षक सुदीप रेग्मीको मोबाइल नम्बर ९८५१२६१२०० मा सम्पर्क गरी उजुरी तथा गुनासो गर्न सशस्त्र प्रहरीले आग्रह गरेको छ।
