पश्चिम नवलपरासीका मासु पसलमा अनुगमन गरिएको छ ।दसैँ, तिहार तथा छठ पर्वलक्षित मासु पसलमा अनुगमन गरिएको हो । दसैँ, तिहार तथा छठ पर्वलक्षित मासु पसलमा अस्वस्थकर मासु बिक्री–वितरण भइरहेको जनगुनासो आएपछि मासु पसलहरूमा अनुगमन गरिएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख श्रवणकुमार चौधरीले जानकारी दिए ।
सदरमुकाम परासी र सुनवल नगरपालिकाको भुमहीमा रहेका मासु पसलमा अनुगमन गरिएको प्रमुख चौधरीले जानकारी दिए । अनुगमनको क्रममा अधिकांश मासु पसलमा मूल्यसूची नराखेको, पसलमा सरसफाइ नदेखिएको पाइएको चौधरीले बताए । अनुगमनको क्रममा परासी बजारका ट्यांकीमा राखेर कुखुराको मासु अव्यवस्थित रूपमा सञ्चालन भइरहेको पाइएको चौधरीले बताए ।
उनीहरूलाई मासु पसलको मापदण्डअनुसार र व्यवस्थित गरी मासु पसल सञ्चालन गर्न निर्देशन दिइएको बताए ।उनका अनुसार पहिलाको तुलनामा मासु पसल सुधारोन्मुख भेटिएको छ । मासु पसलमा मासु स्वस्थकर पाइएको पशु रोग अन्वेषण प्रयोगशाला डा. भरत काफ्लेले बताए ।
सदरमुकाम परासीका १४ वटा र सुनवल नगरपालिकाको भुमही बजारमा रहेका दुईवटासहित १६ वटा मासु पसलमा अनुगमन गरिएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रकी डा. विभूति सिंहले जानकारी दिइन् ।