हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा देशका पूर्वी र मध्य भागमा दक्षिण–पश्चिम बंगलादेशआसपासको क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार कोशी र बागमती प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली भएको छ भने कोशी र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
यसैगरी, आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
आज राति देशभर आंशिकदेखि साधारणतया बदली हुने तथा कोशी, बागमती र गण्डकी तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशको तराईका केही स्थानहरूमा हुरीबतास चल्ने सम्भावना रहेको छ ।
आगामी २४ घण्टामा कोशी, मधेश, बागमती, गण्डकीका साथै अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विभागले कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै सम्भावित क्षतिबाट जोगिन उक्त प्रदेशका सर्वसाधारणमा अनुरोध गरेको छ ।