बाढीपहिरोबाट निकै प्रभावित काभ्रे पलाञ्चोकको रोशी र बेथानचोक गाउँपालिकामा विद्युत् सेवा अझै अवरुद्ध छ । १०–१२ असोजमा भएको अविरल वर्षाले रोशी खोलामा बाढी आउँदा काभ्रेपलाञ्चोक, सिन्धुली, रामेछापलगायतका जिल्ला अत्यधिक प्रभावित भएका छन् । त्यसक्रममा विद्युत् प्रसारण तथा वितरणलाइनमा क्षति पुग्दा त्यहाँ विद्युत् सेवा पनि अवरुद्ध छ ।
त्यहाँ रहेको बिपी राजमार्गका विभिन्न सडक खण्डहरू पनि बगाएछि बिजुलीको पोल, ट्रान्सफर्मरलगायतका सामग्री ढुवानी गर्न सकिएको छैन । त्यसले गर्दा त्यहाँ विद्युत् आपूर्ति सञ्चालन गर्न चुनौती भइरहेको नेपाल विद्युत् प्राधिकरणको भनाइ छ । यीबाहेक अन्य ठाउँमा विद्युत् आपुर्ति सुरु भइसकेको नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवालले बताए । ‘पछिल्लो बाढीपहिरोले विद्युत् आपूर्ति नमज्जाले प्रभावित भएको थियो । तर, हालसम्म आउँदा अवरुद्ध भएको विद्युत् आपूर्ति धेरै नै रिकभर भएको छ । अब कार्भ्रेको रोशी र बेथानचोकमा मात्रै विद्युत् आपूर्ति अवरुद्ध छ । अन्य ठाउँमा पनि छुटपुटबाहेक विद्युत् आपूर्ति सुरु भएको छ । बाँकी भएको ठाउँमा पनि दसैँको फूलपातीअघि नै विद्युत् आपूर्ति सुरु हुन्छ ।’
बाढीपहिरोले देशभर नै विद्युत् प्रसारणलाइन र वितरणलाइनमा क्षति भएको थियो । त्यस कारण विद्युत् आपूर्ति ३०–३५ प्रतिशतमा सीमित भएको थियो । तर, अहिले विद्युत् आपूर्ति ९७ प्रतिशत पुगिसकेको प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए ।
बाढीले देशभर गरी वितरणतर्फ ४२ सय मिटर वितरणलाइन क्षतिग्रस्त गरेको थियो । प्राधिकरणका अनुसार देशभर २१ सय ३१ वटा टावर ढलेका थिए । यसैगरी, देशभर ४७ वटा ट्रान्सफर्मर पनि क्षतिग्रस्त भएका थिए । वितरणतर्फ झन्डै २० करोड रुपैयाँको क्षति भएको थियो । हालसम्म आउँदा अधिकांश ठाउँमा पोल र ट्रान्सफर्मर जडान भइसकेको छ ।