लगातार चौथो जितसँगै कर्णाली पहिलो संस्करणको एभरेस्ट महिला भलिबल लिगको फाइनलमा पुगेको छ । लिगको अन्तिम दुईमा स्थान पक्का गर्ने कर्णाली पहिलो टोली बनेको छ । अर्कोतिर मधेश युनाइटेड र चितवन शक्ति लिगको उपाधि दौडबाट बाहिरिएका छन् । राखेपको कभर्ड हलमा बिहीबार भएको चौथो खेलमा आ–आफ्नो स्पर्धामा पराजित हुँदा मधेश र गण्डकी उपाधि दौडबाट बाहिरिएका हुन् ।
राष्ट्रिय टोलीकी कप्तान अरुणा शाही मार्की रहेको चितवन र मिडब्लकर सुमित्रा रेग्मी मार्की रहेको कर्णालीबिचको खेल रोमाञ्चक रह्यो । खेलमा चितवनले अग्रता लिए पनि कर्णालीले २ अंक जोड्यो । चितवनले पहिलो १ अंक पायो । कर्णाली शीर्ष स्थानमा रहँदा चितवनको ७ अंक रहेको छ । कर्णालीले खेल २१–२५, २५–१८, २१–२५, २५–१५ तथा १५–१३ ले जित्यो । पहिलो सेटमा अरुणासहित भारतीय खेलाडी सूर्या, अनुश्री तथा वाल्मीकि आचार्यले सानदार प्रदर्शन गरेपछि चितवन २१–२५ ले विजयी भयो । दोस्रो खेलमा सुमित्रासहित ग्रिसकी अथानासिया लिअग्की, गाब्रिअल बेन्डा र जेनेप आउराइनको उत्कृष्ट प्रदर्शनमा कर्णालीले २५–१८ ले कमब्याक गर्न सफल भएको थियो ।
दुई खेलअघि चितवनको शीर्ष दुईभित्रको सम्भावना समाप्त भएको हो । चितवनले तीन खेलबाट मात्र १ अंक जोड्यो । मधेश अझै अंकविहीन छ । काठमाडौं स्पाइकर्सले मधेशलाई ३–१ को सेटमा हरायो । मधेशका प्रशिक्षक भरत यादवले लिगमा कमजोर प्रदर्शन भएको बताएका छन् । ‘हामीको सुरुवातदेखि नै कमजोर प्रदर्शन गर्यौँ,’ यादवले भने, ‘फर्कने मौका थियो, तर हामीले त्यसको सदुपयोग गर्न सकेनौँ ।’ विदेशीको तुलनामा नेपाली खेलाडी कमजोर रहेको उनले जनाए । ‘विदेशी खेलाडीले सोचेजस्तो खेल्न सकेनन्, उनीहरूबाट राम्रो आशा थियो, साथै नेपाली खेलाडीसँग अन्तर्राष्ट्रिय खेलको एक्सपोजर कमी हुँदा पनि मधेश लिगमा कमजोर रह्यो ।’
लगातार जितपछि दोस्रो स्थानमा उक्लेको काठमाडौंका प्रशिक्षक जगदीश भट्टले चार टोलीबिच फाइनल पुग्न प्रतिस्पर्धा भइरहेको बताए । ‘अहिले विशेष गरी चार टोलीबिच शीर्षका लागि होड चलिरहेको छ, काठमाडौं पनि उपाधि जित्ने टोली हो,’ उनले भने, ‘हामी उपाधि जित्न बाँकी खेल खेल्छौँ ।’ काठमाडौंले शुक्रबार नै बलियो टोली कर्णालीको सामना गर्नेछ । कुमार राईको प्रशिक्षणमा रहेको कर्णाली अहिलेसम्मकै अपराजित टोली हो ।
शीर्ष स्थानमा रहेको कर्णालीले चार खेलबाट १० अंक जोडेको छ । ९ अंकसहित काठमाडौं दोस्रो स्थानमा छ । त्यस्तै, ललितपुर र गण्डकीको पनि फाइनल सम्भावना कायम छ । शुक्रबार हुने खेलसँगै फाइनल पुग्ने शीर्ष दुई टोलीको टुंगो लाग्नेछ । शुक्रबार ललितपुर र चितवन, मधेश र गण्डकी तथा काठमाडौं र कर्णालीबिच प्रतिस्पर्धा हुनेछ ।
काठमाडौंको पुनरागमन
काठमाडौंले लगातार तेस्रो जित निकाल्दा मधेशविरुद्ध ३–१ सेटको पुनरागमन जित निकालेको छ । राष्ट्रिय टोलीकी सदस्य उषा भण्डारी मार्की रहेको काठमाडौंले खेल १५–२५, २५–२३, २५–१५ र २५–१८ ले बाजी मारेको थियो । पहिलो सेट १५–२५ ले गुमाएको काठमाडौंले त्यसपछिका तीन सेट २५–२३, २५–१५, २५–१८ ले आफ्नो पक्षमा पार्दै विजय यात्रालाई कायम राख्यो ।