घटना निकै पुरानो हो । कुनै ठाउँमा एकजना असल मानिस बस्थे । उनी सबैसित असीम प्रेम गर्थे र सबै जीवप्रति उनका हृदयमा अपार करुणा झल्किरहन्थ्यो । उनका तिनै गुणबाट प्रसन्न भएर भगवान्ले उनीसामु आफ्ना दूत पठाए । ‘ईश्वर तपाईंसित अत्यन्त प्रसन्न हुनुहुन्छ । त्यसैले उहाँले मलाई यहाँ पठाउनुभएको हो । उहाँ तपाईंलाई कुनै दिव्य शक्ति दिन चाहनुहुन्छ,’ देवदूतले भने, ‘के तपाईं मानिसहरूलाई रोगमुक्त गराउने शक्ति प्राप्त गर्न चाहनुहुन्छ ? ‘अहँ,’ ती असल मानिसले भने । कसलाई रोगमुक्त गर्ने हो भनेर भगवान् स्वयंले निर्णय गरून् भन्ने म चाहन्छु ।
देवदूतले भने– त्यसो भए तपाईं पापीहरूलाई सत्मार्गमा फर्काउने शक्ति ग्रहण गर्नुहोस् । असल मानिसले भने– यो त तपाईँहरूजस्ता देवदूतको काम हो । मलाई कसैले मसिहा ठानेर मेरो सम्मान गरोस् या मेरो मूर्ति बनोस् भन्ने म पटक्कै चाहन्नँ । ‘तपाईंले त मलाई संकटमा पारिदिनुभयो,’ देवदूतले भने, ‘तपाईंलाई कुनै शक्ति नदिई म स्वर्ग फिर्ता हुन सक्दिनँ । तपाईंले कुनै शक्ति लिन चाहनुभएन भने बाध्य भएर म आफैँले तपाईंलाई कुनै शक्ति दिनुपर्ने हुन्छ ।’ असल मानिसले एकछिन सोचे र भने– ठिक छ, त्यसो हो भने भगवान्ले मबाट जुन शुभकर्म गराउन चाहन्छन्, ती स्वयं घटित होऊन् । तिनमा मेरो हात भएको स्वयं म र अरू कसैले पनि चाल नपाऊन् । किनकि, म आफूमा दैवी शक्तिले युक्त भएको अहंकार पैदा नहोस् भन्ने चाहन्छु ।
तथास्तु ! देवदूतले भने । उनले असल मानिसको छायालाई रोगमुक्त गर्ने दिव्य शक्तिबाट सम्पन्न गरिदिए । त्यसपछि ती असल मानिस जहाँ–जहाँ गए, त्यहाँ मानिसहरू रोगमुक्त हुँदै गए । बन्जर धर्तीमा फूल फुल्न थाले र दुनियाँको जीवनमा वसन्त आयो । आफ्नो दिव्य शक्तिबारे अनभिज्ञ ती असल मानिसले वर्षौंसम्म टाढा–टाढासम्मको यात्रा गरिरहे । उनको पछाडि उनको छायाले सधैँभरि ईश्वरीय इच्छालाई पूर्ण गरिरह्यो । उनलाई जीवनपर्यन्त यसको बोध भएन कि उनी ईश्वरका कति निकट थिए ।