राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधानबमोजिम विभाग प्रमुखहरूको जिम्मेवारी हेरफेर र केही मनोनयन गरेका छन् । उनले पार्टी महामन्त्री धवलशमशेर राणालाई संगठन विभागबाट हटाएर वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलाई जिम्मेवारी दिएका छन् । यो निर्णयप्रति पार्टीको निर्देशन समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले असहमति जनाएका छन् ।
पछिल्लोपटक अध्यक्ष लिङ्देन र महामन्त्री राणाबिच सम्बन्ध चिसिएको छ । राणाले आफूविरुद्ध पार्टीमा समानान्तर गतिविधि सञ्चालन गर्दै आएको संस्थापन पक्षको बुझाइ छ । राणा पक्षले भने अध्यक्ष लिङ्देन पार्टीमा निरंकुश हुँदै गएको आरोप लगाउने गरेको छ । संगठन विभाग प्रमुख बनाइएका तामाङ यसअघि राजनीतिक विभाग प्रमुख थिए । लिङ्देनले आफू विदेश भ्रमणमा जाँदा तामाङलाई कार्यवाहक दिँदै आएका छन् । सुरुमा राणाको नेतृत्वमा राजसंस्था र हिन्दु राष्ट्रका लागि आन्दोलन समिति गठन गरेका लिङ्देनले सम्बन्ध चिसिएपछि आफ्नो संयोजकत्वमा जनआन्दोलन समिति गठन गरेका छन् । राणाले पार्टीमा समानान्तर गतिविधि चलाएको भन्दै उनीमाथि कारबाही गर्न अध्यक्ष लिङ्देनमाथि निकटस्थ नेताहरूले दबाब बढाएका वेला राणा जिम्मेवारीमुक्त भएका छन् ।
राप्रपाका पूर्वअध्यक्ष तथा हाल निर्देशन समिति अध्यक्ष लोहनीले अध्यक्ष लिङ्देनको निर्णयलाई अविवेकी भन्दै असहमति जनाएका छन् । राणा बिरामी भएर उपचारका लागि विदेश भएका वेला जिम्मेवारीबाट हटाइएको लोहनीको जिकिर छ । ‘बिरामी भएर विदेशमा उपचार गराउँदै गरेका वेलामा महामन्त्री राणालाई संगठन विभाग प्रमुखबाट हटाउनु अविवेकी तथा अमानवीय निर्णय हो । बिरामी साथीलाई तनाव दिने काम मात्र हो, यो निर्णयप्रति म दुःख व्यक्त गर्दछु र मेरो असहमति स्पष्ट गर्दछु,’ लोहनीले भनेका छन् ।
अध्यक्ष लिङ्देनले पार्टीको राजनीतिक विभाग प्रमुखको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई दिएका छन् । वरिष्ठ नेता उपाध्यक्ष ध्रुवबहादुर प्रधानलाई स्थानीय तह परिचालन विभागको प्रमुख बनाइएको छ । प्रधान यसअघि प्रशिक्षण विभाग प्रमुख थिए । स्थानीय तह परिचालन विभाग प्रमुखको जिम्मेवारीबाट पार्टी नेतृ रोशन कार्की हटाइएकी छिन् ।
अध्यक्ष लिङ्देनले पार्टीको पर्यटन विभाग प्रमुखमा सहायक महामन्त्री विजय खड्कालाई जिम्मेवारी दिएका छन् । पार्टीको विपत् व्यवस्थापन विभागको प्रमुखमा केन्द्रीय सदस्य उद्धव थापा, सूचना प्रविधि विभाग प्रमुखमा केन्द्रीय सदस्य उद्धवराज भेटुवाल र लेखा समितिको प्रमुखमा केन्द्रीय सदस्य केदार न्यौपानेले जिम्मेवारी प्राप्त गरेको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।